शहीदको सम्झनामा दीप प्रज्ज्वलन

सुर्खेत : कर्णाली प्रदेश स्थापनाका लागि ज्यान गुमाएका शहीदहरूको सम्झनामा सुर्खेतमा दीप प्रज्ज्वलन गरिएको छ। ११औँ शहीद स्मृति दिवसको अवसरमा याम विसी स्मृति प्रतिष्ठान सुर्खेतले सोमबार वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरेको हो।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, शहीद याम विसीका बुवा शेरबहादुर विसी, आमा इन्द्रमाया विसी, बहिनी भगवती विसीलगायत सहभागी थिए। यस्तै, शहीद गोपालसिंह रजवारका छोरा दीपक नेपाली, शहीद टीकाराम गौतमका छोरा अमृत गौतम तथा नागरिक अगुवा पीताम्बर ढकाललगायतको सहभागिता थियो।


दीप प्रज्ज्वलनअघि कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौनधारण गरिएको थियो।

२०७२ साल साउन २५ गते कर्णाली प्रदेश स्थापनाको माग गर्दै भएको आन्दोलनका क्रममा सुर्खेतका याम विसी, टीकाराम गौतम र गोपालसिंह रजवारले ज्यान गुमाएका थिए। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका जुम्लाका हरिबहादुर कुँवरको उपचारका क्रममा चार दिनपछि मृत्यु भएको थियो।


कार्यक्रममा सहभागीहरूले शहीदहरूको बलिदानकै कारण कर्णाली प्रदेश प्राप्त भएको भन्दै उनीहरूको योगदानको सम्मानसँगै शहीद परिवारका लागि दीर्घकालीन राहत र संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

Post a Comment

Previous Post Next Post