दैलेख गाडी दुर्घटना : अत्याधुनिक प्रविधिसहित सुरक्षा निकायको निरन्तर प्रयास

सुर्खेत : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका चार जना र गाडीको खोजी अभियान तेस्रो दिन पनि जारी रहेको छ। तर वर्षायामका कारण कर्णाली नदीमा आएको तीव्र बहाव, बढ्दो जलस्तर र धमिलो पानीका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको सुरक्षा निकायले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले नदीको बहाव अत्यधिक भएकाले गोताखोरलाई नदीभित्र प्रभावकारी रूपमा खोजी गर्न कठिन भइरहेको बताए। उनका अनुसार दुर्घटनास्थलबाट नदीसम्म पुग्ने बाटो अत्यन्तै भिरालो भएकाले उद्धार टोलीलाई थप समस्या परेको छ। यद्यपि सबै चुनौतीका बाबजुद सम्भावित स्थानहरूमा गोताखोर परिचालन, नदी किनारमा सुरक्षा निगरानी तथा स्थानीयवासीसँगको सहकार्यमार्फत खोजी कार्यलाई निरन्तरता दिइएको उनले जानकारी दिए।

दुर्घटनापछि खोजी अभियानलाई प्रभावकारी बनाउन अत्याधुनिक उपकरणसमेत प्रयोग गरिएको छ। सशस्त्र प्रहरीका गोताखोर टोलीसँगै ड्रोन क्यामेरा, विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ल्याइएको सोनार क्यामेरा र म्याग्नेटको प्रयोग गरी नदीभित्र गाडी र बेपत्ताको खोजी भइरहेको छ। साथै नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई निगरानी र खोज अभियानसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

  

प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना भएको दिन नै डीआईजी सापकोटाको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयबाट ९ जना, जिल्ला प्रहरी कार्यालय दैलेखबाट १५ जना, इलाका प्रहरी कार्यालय दुल्लुबाट ७ जना, इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट ६ जना तथा तल्लो डुङ्गेश्वर र पाल्तडा प्रहरी चौकीबाट ८ जना गरी नेपाल प्रहरीका ४५ जना परिचालन गरिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलबाट ६ जना गोताखोरसहित ३५ जना तथा नेपाली सेनाबाट ११ जना परिचालन गरी संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

हाल पनि इलाका प्रहरी कार्यालय दुल्लु र पाल्तडा प्रहरी चौकीका १० जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल दैलेख र महेश्वरी बाहिनी सुर्खेतका ६ जना गोताखोरसहित १५ जना सशस्त्र प्रहरी घटनास्थलमा निरन्तर खटिएका छन्। यसका साथै सुर्खेतका बिजौरा, लगाम, तातोपानी र घाटगाउँस्थित प्रहरी युनिटलाई कर्णाली नदी किनारमा परिचालन गरिएको छ भने अछाम, कैलाली र बर्दियाका सुरक्षा निकायसँग समन्वय गरेर खोजी क्षेत्र विस्तार गरिएको छ।

डीआईजी सापकोटाका अनुसार असार १८ गते बिहान करिब साढे ११ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। प्रारम्भिक विवरणअनुसार गाडी सुर्खेत बसपार्कबाट चालक र सहचालकसहित पाँच जना लिएर छुटेको भए पनि बीच बाटोमा थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।


दुर्घटनामा कालिकोटको पचालझरना गाउँपालिका–९ का जेखे जितरुवालाई अचेत अवस्थामा उद्धार गरी दुल्लु अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा यात्रु मेखे तिरुवा र सिर्जना खड्का अझै बेपत्ता रहेका छन्। उनीहरूको खोजीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा डीआईजी सापकोटाले कर्णाली राजमार्गमा प्रभावकारी चेकपोइन्टको अभावले दुर्घटनापछिको उद्धार तथा अनुसन्धानमा समस्या सिर्जना भएको पनि उल्लेख गरे। उनका अनुसार राजमार्गका विभिन्न स्थानमा नियमित चेकिङ र यात्रुको अभिलेख राख्ने व्यवस्था भएको भए दुर्घटनामा कति जना सवार थिए भन्ने विवरण तत्काल प्राप्त गर्न सहज हुने थियो। उनले प्रहरीले गर्ने चेकिङप्रति बेला–बेला गुनासो आउने गरे पनि आवश्यक सुधारका लागि प्रहरी तयार रहेको बताए।

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारीसाधनको नियमित प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिँदै उनले कम्तीमा प्रत्येक ६–६ महिनामा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गर्ने व्यवस्था लागू गर्नुपर्ने धारणा राखे। साथै सडकको स्तरोन्नति, नियमित मर्मत, सुरक्षित पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापनमा सरकार, सडक विभाग, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता उनले औंल्याए।

Post a Comment

Previous Post Next Post