मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.ई. राजन सुवालले गरे गुणस्तरीय,अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्था बनाउने प्रतिबद्धता

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति सह–प्राध्यापक डा.ई.राजन सुवालले विश्वविद्यालयलाई गुणस्तरीय, अनुसन्धानमुखी तथा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित बैठक हलमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उपकुलपति डा. सुवालले कर्णाली क्षेत्र तथा मध्यपश्चिम विश्वविद्यालयमा यसअघि विभिन्न जिम्मेवारी सम्हालेको अनुभवलाई विश्वविद्यालयको समग्र विकासमा उपयोग गर्ने बताए।

उनले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर सकारात्मक, सहकार्यात्मक र परिणाममुखी ढंगले काम गर्ने उल्लेख गरे। विश्वविद्यालयको समग्र विकासका लागि सबै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाले इमानदारी, कर्तव्यनिष्ठा र समर्पणका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

सोही कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेलको सम्मान तथा बिदाइ पनि गरिएको थियो। कार्यक्रममा बोल्दै उनले विशेष परिस्थितिमा विश्वविद्यालयको नेतृत्व गर्ने अवसर पाएको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयको समग्र हितका लागि निरन्तर प्रयास गरेको बताए। आगामी दिनमा पनि विश्वविद्यालयको उन्नति र प्रगतिका लागि आफ्नो साथ, सहयोग र शुभेच्छा रहने उनको भनाइ थियो।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनियुक्त उपकुलपति डा। सुवाललाई सफल कार्यकालको शुभकामना दिएका थिए।

स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विभागीय प्रमुख तथा संयोजक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

Post a Comment

Previous Post Next Post