सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी शनिवार नेपाल चर्चित पूर्व राष्ट्रिय खेलाडीहरुविच मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटवल संघका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी गणेश थापा, पूर्व राष्ट्रिय खेलाडीहरु उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्काजस्ता चर्चित खेलाडी र कर्णाली प्रदेशका पूर्व राष्ट्रिय खेलाडीहरुविच आगामी शनिवार असार २७ गते दिउँसो मैत्रीपूर्ण खेल हुने भएको हो ।
सुर्खेतस्थित ग्रीनल्याण्ड फुटवल एकेडेमी र ह्युमनराइट सोसाइटीले शनिवार पत्रकार सम्मेलन गरी आगामी शनिवार नेपाल लेजेण्ड भर्सेज कर्णाली लेजेण्ड भेट्रान कप फुटवल खेल हुने जनाएको छ । एकेडेमीका अध्यक्ष शशि केसीले पहिलोपटक कर्णालीको सुर्खेतमा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाडीहरुको जमघट हुने बताएका छन।
कर्णालीमा फुटवल खेलप्रतिको माया र प्रोत्साहन गर्न, नेपाली प्रतिभालाई पहिचान गर्न पूर्व राष्ट्रिय खेलाडीहरुको सम्मान गर्नका साथै नेपालकै गौरव गर्न लायक कर्णाली रंगशालाको प्रचारप्रसारमा योगदान दिन पूर्व राष्ट्रिय खेलाडीहरुविच मैत्रीपूर्ण खेल गराउन लागिएको जानकारी दिए। सो खेलमा विभिन्न समाजसेवीहरुको नामबाट विधागत पुरस्कार पनि प्रदान गरिनेछ । साथै यो खेलले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद गराउन पनि दवाव दिने विश्वास व्यत्त गरे । खेलका लागि करिव २५ लाख रुपियाँ लाग्ने अनुमान गर्दै अध्यक्ष केसीले त्यो सवै एकेडेमीले व्यहोर्ने जानकारी दिए । कर्णाली प्रदेश खेलकुद विकास परिषदले केही सहयोग गर्ने आश्वास दिएको भन्दै अन्य कुनै सरकारी सहयोग नभएको उनको भनाइ छ ।
पूर्व राष्ट्रिय खेलाडीहरुसँग हुने मैत्रीपूर्ण खेलमा कर्णालीका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्द, कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, पूर्व राष्ट्रिय खेलाडीहरु नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतले मैत्रीपूर्ण खेल खेल्ने ग्रीनल्याण्ड फुटवल एकेडेमीका अध्यक्ष शशि केसीले जानकारी दिए । खेलका लागि २५०, ३००, ५०० र एक हजार रुपियाँ टिकट शुल्क तोकिएको छभने विद्यार्थीलगायतलाई निःशुल्क भनिएको छ ।

Post a Comment