उद्योग वाणिज्य संघ कर्णालीको नेतृत्व चयनको तयारी

सुर्खेत : कर्णाली प्रदेश उद्योग वाणिज्य संघको आगामी निर्वाचन यही चैत २३ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेशभरका उद्योगी–व्यवसायीहरूबीच नयाँ नेतृत्व चयनको तयारी तीव्र भइरहेका बेला अध्यक्ष पदका लागि भने अहिलेसम्म औपचारिक उम्मेदवारी दर्ता नभएको संघले जनाएको छ  ।  सुर्खेत जिल्लाबाट धनबहादुर रावतले अध्यक्ष पदमा दाबी गर्ने  भएका छन् ।  संघको प्रावधानअनुसार अध्यक्ष पदका लागि जिल्ला अध्यक्ष बनिसकेको हुनुपर्ने व्यवस्था रहेको छ । हालसम्म कुनै पनि जिल्लाबाट आधिकारिक रूपमा अध्यक्ष पदमा दाबी पेश नभएको बताइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाबाट एक–एक उद्योग वाणिज्य संघ र सुर्खेतको छिन्चुमा रहेको नगर उद्योग वाणिज्य संघ गरी कुल ११ वटा संघहरू सक्रिय रहेका छन् । ती सबै संघहरूको सहभागितामा प्रदेश नेतृत्व चयन हुने भएकाले सबैको ध्यान केन्द्रित भएको छ । निर्वाचन नजिकिँदै जाँदा सम्भावित उम्मेदवारहरू सक्रिय रुपमा लागेका छन् । सहमति वा प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन हुने विषयमा उद्योगी व्यवसायीहरूबीच चर्को बहस समेत सुरु भएको छ ।

अध्यक्ष पदमा कसले उम्मेदवारी दिने भन्ने विषय अझै टुंगो नलागेकाले आगामी दिनमा राजनीतिक तथा व्यावसायिक समिकरणहरू निर्णायक बन्ने अनुमान गरिएको छ । कर्णालीको आर्थिक विकास र निजी क्षेत्रको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नसँग जोडिएको यो निर्वाचनलाई प्रदेशकै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

Post a Comment

Previous Post Next Post