सुर्खेत : कर्णाली प्रदेशमा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३८ हजार बढी परीक्षार्थीहरु परिक्षामा सहभागी भएका छन् । कर्णालीका १० जिल्लाबाट गरी कूल ३८ हजार ३७९ जना परीक्षार्थीहरु सहभागी भएका हुन् । परीक्षा आज चैत १९ गते विहीवारदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार साधारणतर्फ ३० हजार ५४ जना, प्राविधिक धारतर्फ एक हजार ४०१ जना र ग्रेड बृद्धितर्फ ६ हजार १२४ जना गरी कूल ३ हजार ३७९ परीक्षार्थीहरु सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशक दीपा हमालले गत वर्षको तुलनामा यसवर्ष ६ हजार ६०६ जना बढी विद्यार्थीहरुले परीक्षा दिन लागेको बताइन । गत वर्ष ३१ हजार ७७३ जना विद्यार्थीहरु सहभागी थिए ।
उनका अनुसार कर्णालीमा १६१ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा संचालनका लागि कूल पाँच हजार ९ जना जनशक्तिहरु परिचालित गरिनेछ । जसमा केन्द्राध्यक्ष १६१ जना, सहायक केन्द्राध्यक्ष २५५ जना, निरीक्षकहरु एक हजार ९१८ जना, परीक्षा सहायक ३८३ जना, कार्यालय सहयोगी ७६६ जना र सुरक्षाकर्मीहरु दुई हजार ४१८ जना रहेका छन् ।
बुधवारसम्म कर्णालीका १० जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेको, केन्द्राध्यक्ष लगायतलाई परीक्षालाई मर्यादित रुपमा संचालन गर्न अभिमुखीकरण गराउनेलगायतका सवै कामहरु पूरा भइसकेको निर्देशक हमालले बताइन । विभिन्न जिल्लामा परीक्षा दिने तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीलाई सहयोग राख्न सकिने, जेल तथा हिरासतमा रहेकालाई सोही स्थानबाट परीक्षा दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसका लागि केन्द्राध्यक्षले सम्पूर्ण अधिकार प्रयोग गर्नेछन् । परीक्षामा हुलदंगा तथा अमर्यादित क्रियाकलाप गर्नेहरुलाई अन द स्पटमै कारबाही गर्ने अधिकार केन्द्राध्यक्षलाई दिइएको भन्दै उनले यसवर्ष परीक्षालाई मर्यादित र अनुशासित बनाउने गृहकार्य पनि भइरहेको जानकारी दिइन । यसवर्ष परीक्षा सकिएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी रहेको छ । उत्तरपुस्तिकाहरु जाँच गर्ने विभिन्न विकल्पमा छलफल भइरहेकोले यसवर्ष एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ ।

Post a Comment