सुर्खेत : भोलि २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन इन्सेकले आह्वान गरेको छ । गत भदौ २३ र २४ गते नवयुवा पुस्ताले गरेको प्रदर्शनपछि विशेष परिस्थितिमा सम्पन्न हुन लागेको यो निर्वाचनले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास पुनर्स्थापित गर्ने, राजनीतिक वैधता सुदृढ गर्ने र मानव अधिकारप्रतिको प्रतिबद्धतालाई व्यवहारमा अझ सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने इन्सेकले जनाएको छ ।
इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिना भय, धम्की, प्रलोभन, दुरुपयोग वा हिंसारहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनु प्रत्येक मतदाताको मौलिक अधिकार रहेको र स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचनले नै लोकतन्त्रलाई संस्थागत गर्ने जनाइएको छ ।
इन्सेकले निर्वाचनको मौन अवधिदेखि मतदान तथा मतगणनासम्मका गतिविधिहरूको मानव अधिकारका दृष्टले अनुगमन गरिरहेको र इन्सेकका २ सय ३० भन्दा बढी पर्यवेक्षकले यो निर्वाचनको पर्यवेक्षण गर्ने विज्ञप्तिमा उल्लेख छ । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखका लागि १८१०५०००४३३ नम्बरको टोलफ्री सञ्चालनमा ल्याएको इन्सेकले विज्ञप्ति मार्फत जनाएको छ ।

Post a Comment