प्रेस युनियनले सुरु गर्यो निर्वाचन लक्षित प्रदेशस्तरीय रणनीतिक बैठक

सुर्खेत : नेपाल प्रेस युनियनको केन्द्रीय समितिको केन्द्रीय कार्यक्रम अनुसार आगामी निर्वाचन लक्षित प्रदेशस्तरीय रणनीतिक बैठक सुरु गरेको छ । सुर्खेतमा युनियनले कर्णाली प्रदेशस्तरीय रणनीतिक बैठक सुरु गरेको हो । 

बैठकमा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियनमा आवद्ध सम्पूर्ण सञ्चारकर्मीहरुलाई आफ्नो सम्पूर्ण संरचनाहरु परिचालन गर्न निर्देशन दिएका छन। युनियन नेपाल कांग्रेसको शुभेच्छुक संस्था भएकोले केही आग्रह पूर्वाग्रह भएपनि त्यसलाई निर्वाचन अवधिभर थाती राखेर निर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई जिताउन आफ्ना संरचनाहरु प्रयोग गर्न निर्देशन दिए। निर्वाचनमा कांग्रेस उम्मेदवारहरु बिजयी भएपछि आफ्ना कुराहरु युनियनको जिल्ला, प्रदेश र केन्द्रीय समितिले राख्ने हुँदा अहिले चित्त दुखाईलाई नदेखाइ निर्वाचनमा होमिनुपर्ने  उनको भनाइ छ । 

साथै निर्वाचनमा असहयोग गर्ने, विरोध गर्नेहरुको तथ्यांक राख्न आग्रह गर्दै उनले निर्वाचनपछि उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइने बताए । यस्तै कांग्रेस उम्मेदवारहरुलाई पनि प्रेस युनियनमा आवद्ध सञ्चारकर्मीहरुलाई सुख र दुःख दुवैमा सँगसँगै लैजानुपर्ने सुझाव केन्द्रीय सभापति लम्सालले दिए । युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले लोकतन्त्रको भरपुर प्रयोग गर्न आग्रह गर्दै निर्वाचनमा कांग्रेस उम्मेदवारहरुको पक्षमा माहोल बनाउन युनियनकर्मीहरुलाई निर्देशन दिए । नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टी र युयिननविचको सम्न्धबन्धमा प्रगाढ बनाउँदै निर्वाचनमा कांग्रेसका पक्षमा वातावरण बनाउनुपर्ने बताए । 

नेपाली कांग्रेसका तर्फबाट सुर्खेत क्षेत्र नं।२ का उम्मेदवार नारायण कोइरालाले आफू पनि प्रेस युनियनको सदस्य भएको हुँदा निर्वाचनमा जितको वातावरण बनाइदिन आग्रह गरे । कर्णाली प्रदेशका युनियनका सात जिल्ला सभापतिहरु सहभागी भएको बैठकमा जिल्लामा पार्टीले युनियनलाई निर्वाचनका बेलामा मात्रै सम्झने र अरुबेला विर्सन खोजेको, युनियनको आवद्ध संचारकर्मी भन्दा अन्य संचारकर्मीहरुलाई कांग्रेस उम्मेदवाहरुले संगै लैजाने गरेकोले युनियनकर्मीलाई हौसला दिन सुझाव दिएका छन् । साथै आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा जितको वातावरण बनाउन लाग्ने प्रद्धिवद्धतासमेत उनीहरुले गरेका छन् । 

Post a Comment

Previous Post Next Post