सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रको पत्र अनुसार बुधबार शर्मालाई सांसद पदबाट निष्कासन गरेको जानकारी कर्णाली प्रदेशसभालाई गराइएको हो । शर्मा तत्कालीन माओवादी केन्द्र विभाजनपछि जनार्दन शर्मा समूहमा लागेका थिए ।
नेकपा कर्णाली प्रदेश संसदीय दलले प्रदेशसभालाई जानकारी गराएको पत्रमा शर्माले जानीजानी नेकपाको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गरेको कार्य पार्टी र प्रदेश संसदीय दलको विधानविपरीत भएको ठहर गरेको छ ।
यसअघि सोमबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समितिलगायत दलको सम्पूर्ण जिम्मेवारी र नेकपा कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट पनि निष्कासन गर्ने निर्णय गरेको थियो ।


Post a Comment