निर्वाचन सुरक्षाका लागि सुर्खेतमा १,८४६ प्रहरी परिचालन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतका दुई निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन  १,८४६ जना निर्वाचन प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय अन्तर्गत सशस्त्र प्रहरी २१२ जना र जनपद प्रहरी १,६२८ जना परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार निर्वाचन प्रहरीलाई आवश्यक तालिम दिएर सोमबारदेखि सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ। सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले अबको १०–१५ दिन निर्वाचन प्रहरी मतदान स्थल र केन्द्रको सुरक्षा, गस्ती तथा शान्तिसुरक्षामा नियमित प्रहरीसँगै खटिने जानकारी दिए ।

पञ्चपुरी नगरपालिका बाबियाचौरतर्फ जाँदै गरेका निर्वाचन प्रहरी प्रकाश बुढाले जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचन सफल र सौहार्दपूर्ण बनाउन आफ्नो तर्फबाट पूर्ण प्रयास रहने बताए । यसैबीच सुर्खेतका लागि आवश्यक मतपत्रसहितका निर्वाचन सामग्री जिल्लामा आइपुगेका छन्। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दप्रसाद चौलागाईंका अनुसार मतपत्र सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । मतपेटिका पर्याप्त रहेको र अन्य सामग्री आउने क्रम जारी छ । सुर्खेतमा कुल २ लाख ४८ हजार ९४३ मतदाता रहेका छन्, जसमा १ लाख २१ हजार ८८९ पुरुष र १ लाख २७ हजार ५४ महिला मतदाता छन् ।


Post a Comment

Previous Post Next Post