सुर्खेत : मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले सद्भाव प्रवर्द्धन तथा हिंसा र घृणाको खारेजीको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ ।
२७ पौष २०८२ मा आयोजित प्रदर्शनमा सहभागीहरूले “शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा, सहिष्णुता हाम्रो स्वाभिमान” जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन ।
मधेस प्रदेशमा पछिल्लो समय देखिएको संवेदनशील अवस्थाका साथै देशका अन्य भागमा समेत सद्भाव र निर्वाचनको वातावरण बिथोल्ने गतिविधि देखिन थालेपछि समाजले प्रदर्शन आयोजना गरेको जनाएको छ । प्रदर्शनमा समाजलाई तोड्ने होइन, जोड्ने अभियानमा जुट्न, अराजकता, हिंसा र घृणा खारेज गर्न, अहिंसा, शान्ति र सद्भाव प्रवर्द्धन गर्न तथा समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न आग्रह गरिएको थियो ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्दै सदुपयोग गर्न, अफवाह र उत्तेजनाबाट बच्न, जिम्मेवार सूचना सम्प्रेषण गर्न तथा घृणामुक्त डिजिटल वातावरण निर्माण गर्नुपर्ने सन्देशसहितका प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले समाजलाई तोड्ने होइन, जोड्ने कार्यमा सबै नागरिकले योगदान गर्नुपर्नेमा जोड दिए ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजले “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” विषयक नागरिक संवाद कार्यक्रम देशका ३० जिल्लामा आयोजना गर्ने जनाएको छ । पुष २९ गते चितवनबाट सुरु हुने कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, महासचिव प्रकाश शाहीसहित राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा नागरिक अगुवाहरूको सहभागिता रहने महासचिव शाहीले जानकारी दिए ।

Post a Comment