सुर्खेत : पछिल्लो राजनीतिक परिवर्तनपछि प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको भेला आयोजना गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
दुई दिने भेलामा नगरप्रमुख र उपप्रमुखसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ। भेलामा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुखहरूलाई समेत सहभागी गराइनेछ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्यरूपमा तीनवटा विषयमा छलफल हुनेछ ।
१, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह।
२,कर्णाली प्रदेशले योजना छनोटसम्बन्धी हाल गरिएको अभ्यास र योजना छनोट कार्यविधि।
३,स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाँडफाँडसम्बन्धी।
सचिव विकका अनुसार संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित भएर अघि बढ्नुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढंगले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको हो। उनका अनुसार छलफल तथा अन्तरक्रियाले दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्धका समस्या र समाधानका उपायहरू खोजिनेछन्।
कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट तथा आयोजना बैंकको अवधारणा ल्याएर चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ। कार्यक्रममा उक्त अवधारणालाई थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल हुनेछ।

Post a Comment