जेनजी आन्दोलन पछि कर्णाली प्रदेशसभा बैठक स्थल अनिश्चित

सुर्खेत : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट नष्टका कारण कर्णाली प्रदेश सभा बैठक स्थलबारे अझै पनि अन्योल कायमै रहेको छ । वैधानिक रूपमा आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने व्यवस्था भए पनि बैठक स्थल तय भएपछि अधिवेशन अनिश्चित बनेको हो ।

हिउँदे अधिवेशनको समय नजिकिँदै जाँदा बैठक कहाँ र कसरी बस्ने भन्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन । वर्तमान भवनलाई मर्मत गरेर प्रयोग गर्न सकिने वा नयाँ वैकल्पिक स्थान छनोट गर्ने विषयमा समेत टुंगो नलागेको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

“सबै कुरा शून्यबाट सुरु गर्नुपर्ने भएकोले बैठक सञ्चालन र स्थानबारे हालसम्म कुनै निर्णय हुन सकेको छैन,” सचिव बुढाथोकीले भने। उनका अनुसार बैठक स्थलबारे छलफलका लागि कात्तिक १२ गते आज बैठक बोलाइएको छ । सो छलफलबाट आउने निष्कर्षका आधारमा मात्रै आगामी कदम तय गरिनेछ ।

प्रदेश सभा भवन मर्मतका लागि अहिले न त आवश्यक बजेट उपलब्ध छ, न त समय पर्याप्त रहेको सचिवालयको भनाइ छ । बुढाथोकीका अनुसार, “बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार निर्माण गर्न कम्तीमा छ महिना देखि एक वर्षसम्म समय लाग्ने देखिन्छ । साथै, नयाँ फर्निचर र उपकरण खरिद प्रक्रियामा पनि समय लाग्ने भएकाले वैकल्पिक स्थलको खोजी गर्नुपर्ने हुन्छ ।

यदि तोकिएको समयभित्र मर्मत कार्य सम्पन्न हुन सकेन भने प्रदेशसभा बैठक सञ्चालनका लागि मन्त्रालय तथा निर्देशनालयका भवन, जिल्ला समन्वय समिति (डिसीसी)को हल वा सिटी हल वैकल्पिक विकल्प बन्न सक्ने सचिव बुढाथोकीले बताए ।

यसबीच, आगजनीका कारण प्रदेश सभा भवनका विभिन्न समितिका कार्यकक्ष पूर्ण रूपमा जले पनि केही समितिहरूले आफ्नो नियमित कार्य सञ्चालन गरिरहेका छन् । सामाजिक विकास समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिले आफ्ना बैठक बसेर काम अगाडि बढाइरहेका छन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार समितिका कार्यकक्ष जलेपछि अहिले आलोपालो गरेर बैठक बस्ने व्यवस्था गरिएको छ । सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिको कार्यकक्ष आंशिक क्षतिग्रस्त भएकाले सामान्य सफाइ गरेर प्रयोग भइरहेको छ, पौडेलले जानकारी दिए ।

भदौ २४ गतेको घटनामा प्रदेश सभा भवनमा करिब चार करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ । आगजनीमा बैठक हल, कागजात, फर्निचर, इलेक्ट्रोनिक उपकरणलगायत सामग्री नष्ट भएका थिए । हाल प्रदेश सभा सचिवालयले मर्मत तथा पुनर्निर्माणका लागि विस्तृत योजना बनाउन तयारी थालेको छ । तर, बजेट अभाव र समय सिमितता भएकाले तत्काल समाधानको सम्भावना न्यून रहेको देखिन्छ ।

Post a Comment

Previous Post Next Post