संगठन बलियो पार्न सदस्यता अभियानलाई तिव्रताका साथ अघि बढ्नुपर्छ : कांग्रेस उपसभापति खड्का

सुर्खेत : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिए पनि जनअपेक्षा अनुसारको कार्यसम्पादन नदेखिएकोले संगठन बलियो बनाउन तिव्रताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित संगठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तामा रहेका नेताहरूबाटै चिया–चौतारी र गफगाफमा असन्तुष्टि बाँडिने प्रवृत्ति बढेको गुनासो गरेका छन । “राजनीतिक स्थिरता त देखिन्छ, तर जनताले अपेक्षा गरेका कामहरू पूरा हुन सकेका छैनन्,” उनले भने, “चिया–चौतारीमा बसेर सत्ताको गुनासो गर्ने अवस्था राजनीतिक नेतृत्वमै देखिन्छ।”

उहाँले हालै काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक ठहर गरे। उनका अनुसार उक्त बैठकमा सहभागिता, विषयवस्तुको प्रस्तुति र निर्णय प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाएको छ। सो बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको जानकारी दिए।

कार्यक्रममा उनले पार्टीभित्रको संगठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराए। “पार्टीले आन्तरिक लोकतन्त्रलाई अझ बलियो बनाउने दिशामा काम गरिरहेको छ,” उनको भनाइ छ ।

उपसभापति खड्काले क्रियाशील सदस्यता वितरण तथा नवीकरण सम्बन्धी कार्यहरू पार्टी विधान अनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै ती कार्यहरूलाई तत्काल सक्रिय रूपमा अघि बढाउन निर्देशन दिए। “संगठन सञ्चालनको मूल आधार सदस्यता हो,” उनले भने “यसलाई नियमित र निरन्तर अभियानका रूपमा अघि बढाउनु आवश्यक छ।”

कार्यक्रममा उनले पार्टीभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यास गरिनुपर्नेमा जोड दिए। साथै उनले समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता मात्रै पर्याप्त नरही विश्वसनीय कार्यसम्पादन पनि अनिवार्य रहेको उल्लेख गर्दै सबै तहका सरकारहरूलाई जनउत्तरदायी रूपमा काम गर्न आग्रह गरका छन।



Post a Comment

Previous Post Next Post