रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ मा मंगलबार रातीको दश बजे एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।
टाटागाउँ ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीलाई लखेटी लखेटी खुकुरी प्रहार गरि हत्या हुन् ।
घटनाको जानकारी लगत्तै घटनास्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार श्रीमान् श्रीमती बिच पहिला पनि विवाद र झैझैगडा हुने गरेको थियो । गएराती सुरुमा दुई जना बिच घरमै लछारपछार भएको थियो । श्रीमान् चन्द्रबहादुरले एक्कासी मार हान्ने (खसी, बोका काट्ने)खुकुरी निकालेर जब श्रीमतीलाई ताके, उनीहरुको साथमा रहेका छोराछोरी चिच्याउन थाले ।
डरले देविका घरबाट निस्किईन् । तर चन्द्रबहादुर पछ्याउँदै गए । घर भन्दा करिब २५ मिटर पर खेतमा भेटाएर कुखुरी हाने । हातले छल्न खोज्दा औला काटिए । त्यसपछि चन्द्रबहादुरले अन्धाधुन्द खुकुरी बर्षाए । आफूलाई बचाउने प्रयासमा रहेकी देविकाको दुबै हात काटिए । एक हात त टुक्रा भएर अलग्गै भएको डिएपी बिष्टले बताए ।
दुबै हात काटिएपछि चन्द्रबहादुरले घाँटि काटे । घाँटीको एकातर्फको छालाको भाग मात्र छुट्टिन बाँकि थियो ।
चन्द्रबहादुर आफै चार किलोमिटर पर रहेको ईलाका प्रहरी कार्यालयमा रक्ताम्य अवस्थामा खुकुरीसहित पुगे । खुकुरी देखाउँदै, काँप्दै उनले श्रीमतीलाई मारेर आएको बताए ।
प्रहरीले उनलाई नियन्त्रणमा लियो । राती नै घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । अहिले देविकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ भने चन्द्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।
अत्यन्त क्रुरतापूर्वक आफ्नै श्रीमतीलाई टुक्रा पारेर हत्या गरिएको डिएसपी बिष्टले उल्लेख गरेका छन। उनले मदिरा सेवन गरेको र लगातारको पारीवारीक झैगडाले उग्र रुप लिएर हत्या समेत भएको हुनसक्ने बताए । तथापि अनुसन्धानकै क्रममा रहेकोले उक्त कारण स्पष्ट भने भएको छैन ।
चौरजहारी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीले अत्यन्त दुखद् घटना भएको बताए । उनका अनुसार उनीहरुका दुई छोरी र एक छोरा रहेका छन् । छोराछोरी साथमै रहेको बेला बुवाले ठुलो अपराधिक कार्य गरेको उनको भनाइ छ ।
१३ वर्षीया ठुली छोरी बुवाले आमालाई लखेट्दै जाँदा पछ्याउँदै गएकी थिईन् । तर उनी नपुग्दै आमालाई टुक्रा पारीसकेको स्थानीयले बताएका छन् ।

Post a Comment