वीरेन्द्रनगरमा दुईदिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुदै

सुर्खेत : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा भोली बुधबार र विहिबार असार १८ र १९ गते  वीरेन्द्रनगरको सिटी हल मा दुईदिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८२ आयोजना हुनेभएको छ।

रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसारको करिअर मार्गदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेला कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको हो ।  मेलाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई एउटै स्थानमा ल्याई दुवै पक्षबीचको सहकार्यको अवसर सिर्जना गर्नेछ ।

कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप  परियोजना अन्तर्गत आयोजना गरिँदैछ ।

मेलाका मुख्य विशेषताहरू

  • वृत्ति विकास सम्बन्धी परामर्श सेवा
  • सीपमूलक तालिम प्रदर्शनी तथा जानकारी
  • रोजगारीका अवसरबारे जानकारी तथा प्रत्यक्ष सम्पर्कको व्यवस्था
  • निःशुल्क कार्यस्थलमा आधारित तालिमहरूको जानकारी
  • स्थानीय उत्पादनहरूको प्रदर्शनी
  • ४० भन्दा बढी स्टल सहभागी हुने

मेलामा ४० ओटा स्टलहरू रहनेछन् जसमा विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक र निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्थाहरू सहभागी हुनेछन् ।  साथै, विद्यालयहरूमार्फत विद्यार्थीहरूको अवलोकन सुनिश्चित गर्न चिठी पठाइएको छ ।

मेलाको प्रचारप्रसार स्थानीय एफएम, पत्रपत्रिका र माइकिङ मार्फत भइरहेको छ भने यसले कर्णालीका युवालाई विदेश पलायनको विकल्प खोज्न र स्थानीय रोजगारीका अवसरहरू पहिचान गर्न सघाउने अपेक्षा आयोजकले लिएका छन् ।

वर्तमान बेरोजगारी, जनशक्ति पलायन र उद्योग व्यवसायमा देखिएको दक्ष जनशक्ति अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको मेलाले स्थानीय श्रम बजारमा माग अनुसारको जनशक्ति उत्पादन गर्न र नीति निर्माणमा मार्गदर्शन प्रदान गर्ने विश्वास लिइएको छ ।


Post a Comment

Previous Post Next Post