सुर्खेत : पर्यटन प्रवर्द्धनका लागि होटल संघ पोखरा नेपालले “जाउँ है पोखरा” अभियान अन्तर्गत पश्चिम नेपालका प्रमुख शहरहरूमा कार्यक्रम सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा सञ्चालन हुने यो अभियान जेठ २९ गतेदेखि असार २ गतेसम्म वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ ९घोराही० मा सञ्चालन हुने भएको छ ।
होटल संघ पोखरा नेपालका संयोजक लक्ष्मण सुवेदीका अनुसार, “जाउँ है पोखरा” अभियान दुई दशकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ । देशमा द्वन्द्वको कालखण्डमा सुरु गरिएको यो अभियानले आन्तरिक पर्यटक नै दिगो पर्यटनको आधार हुन् भन्ने मान्यता अनुसार निरन्तरता पाइरहेको छ ।
संघले गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै अभियान सम्पन्न गरेको थियो । यो वर्ष पश्चिम नेपालमा अभियानलाई केन्द्रित गरी आन्तरिक पर्यटनलाई थप उत्साहित गर्ने र पर्यटकलाई पोखरा भ्रमणको निम्तो दिने उद्देश्य लिएको छ । साथै पोखराबाट समेत पर्यटकलाई पश्चिम नेपालका गन्तव्यहरूतर्फ आकर्षित गर्ने योजना रहेको छ ।
पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सघाउ पुर्याउने विश्वास व्यक्त गरिएको छ । कनेक्टिभिटीलाई विशेष महत्व दिँदै संघले पोखरा तथा पश्चिम नेपालबीच सिधा हवाई उडान तथा स्तरीय बस सेवा विस्तार गर्न सम्बद्ध निकायहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ ।
संघका अनुसार, पोखरामा पाँच खर्ब हाराहारीको लगानी, १,२०० होटल र ४०,००० बेड क्षमता रहेको छ । यस क्षेत्रमा करिब २०,००० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संघले फेवा नववर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव, खेलकुद कार्यक्रम, भारतीय शहरहरूमा “चलिए पोखरा” अभियान तथा अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जस्ता विभिन्न प्रवर्द्धनात्मक गतिविधि गर्दै आएको छ ।
पोखरा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिहरूले भरिपूर्ण गन्तव्य भएको उल्लेख गर्दै होटल संघ पोखराले सम्पूर्ण नेपालीलाई पोखरा भ्रमण गर्न निमन्त्रण गरेको छ ।
यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरा र कर्णालीका पर्यटकीय स्थलहरूलाई जोड्नुपर्ने बताएका छन । कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि काम गरिरहेको जानकारी दिए। उनले कर्णालीमै मात्र रहेको लोपोन्मुख राउटे जातिको सर्किट अध्ययन अघि बढाइएको बताउँदै, गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह गरेका छन। अब गफभन्दा पनि काम गर्नुपर्ने बताउँदै, मन्त्री भण्डारीले कर्णालीमा प्रसस्त रुपमा रहेका पर्यटकिय क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि उद्योग सञ्चालनको खाँचो रहेको कर्णालीमा लगानी गर्न लगानीकर्तालाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने विश्वास दिए ।


Post a Comment