काठमाण्डौ : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए।
यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
मधेश प्रदेशमा पनि मौसम आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यस्तै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशैभर पानी पार्ने प्रणाली थप सक्रिय भएको हो । काठमाण्डौ उपत्यकामा अहिले घाम लागे पनि वर्षाको सम्भावना भने कायमै छ ।
प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताए । यो वर्षको हिउँदयाम सुक्खा नै बिते पनि प्रि–मनसुन शुरू भएपछि भने दिनहुँजसो पानी परिरहेको छ ।

Post a Comment