काठमाण्डौँ : कालीकोटस्थित तिलागुफा नगरपालिका १० मा गत कात्तिक १२ गते भएको बम विष्फोटको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ।
उक्त घटनामा परी २ जना बालिकाको मृत्यु र ३ जना बालबालिका घाइते भएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्नको लागि आयोगले स्थलगत अनुगमन गर्न टोली पठाउनुको साथै सम्बन्धित निकायमा पत्राचार पनि गरेको आयोगका सहसचिव तथा प्रवक्ता टिकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस प्रकारका घटनाहरू विगतदेखि नै भइरहेको भन्दै आयोगले यस्ता घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेको छ।
यस्तै, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह समेत गरेको छ।

Post a Comment