सुर्खेत : विशाल चुनावी जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत आउने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने जनसभालाई सम्बोधन गर्ने भएका छन्। चुनावी सभामा दशौँ हजार जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए।
उनका अनुसार एमाले सुर्खेतको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष कूलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति गठन गरेको छ। जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेना, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन्।
वीरेन्द्रनगरको चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं.२ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका शीर्ष तथा प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोहीदिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।
अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्य राखेर एमालेले भारतसँग सीमा विवाद रहेको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको कार्यक्रमअनुसार अध्यक्ष ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्ने भएका छन्।

Post a Comment