सुर्खेत : कर्णाली प्रदेश सरकारले अविरल वर्षाका कारण बाढी पहिरोमा परि मृत्यु, घाइते तथा विस्थापित भएका परिवारहरुको उद्दार, खोज तथा राहतका लागि निरन्तर खटेको बताइएका छ । प्रदेश सरकारले नेपाली सेनाका दुई वटा हेलिकोप्टरमार्फत राहत सामाग्री लिएर घाइतेहरुको उद्दार गरेर अस्पतालसम्म ल्याएर उपचार गर्ने व्यवस्था मिलाएको हो ।
दुई दिनको अवधिमा प्रदेश सरकारले दुई सुत्केरीसहित १६ जना घाइतेहरुलाई उद्दार गरेर अस्पतालसम्म पुर्याएको छ । माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीज्यूको प्रत्यक्ष निगरानी र रेखदेखमा राहत, उद्दारलगायतका कामहरु भइरहेका छन् । कर्णाली प्रदेशमा हालसम्म बाढी–पहिरोमा परेर ३३ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते हुन भएको छ । घाइते हुनु भएका मध्ये १४ जनाको उद्दार गरिएको छ भने मौसम प्रतिकुलताका कारण सात जनाको उद्दारको प्रक्रियामा कर्णाली प्रदेश सरकार रहेको छ ।
प्रदेश सरकारले बाढीबाट प्रभावित हुम्ला, कालिकोट, मुगु र जुम्लाका लागि आवश्यक राहत सामाग्रीहरु पठाएको छ । जुम्लाको कनाकासुन्दरी, सिंजा, हिमा, कालिकोटको तिलागुफा, मुगुको छायानाथ रारा र ताल्चा तथा हुम्लाको चंखेली, ताजाकोट र सर्केगाडमा बाढीपहिरो पीडितहरुलाई राहत पु¥याउनुका साथै घाइतेहरुको उद्दार कार्य गरिएको छ । कर्णाली प्रदेशमा हालसम्म विभिन्न जिल्लामा ३३ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते हुनु भएको छ भने २२ जना बेपत्ता हुनुहुन्छ । ४८० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएका छन ।
बढीभन्दा बढी राहत सामाग्री पीडितहरुसम्म पुगोस् भन्ने उद्देश्यले माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीज्यू आफै राहत सामाग्री वितरण गर्न नभएर प्रदेश सरकारका एक जना कर्मचारीलाई मात्रै पठाएका छन । प्रदेश सरकार बाढीपहिरोबाट भएको मानवीय तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ । राहत तथा घाइतेहरुको उद्दारका लागि प्रदेश सरकार निरन्तर क्रियाशिल रहेको छ ।
घाइतेहरुको उपचार, मृतकहरुका परिवारका लागि राहत तथा विस्थापितहरुको पुर्नस्थापनाका लागि प्रदेश सरकार निरन्तर लागिरहेको प्रमुख स्वकीय सचिव राज बहादुर रोकायले जानकारी लिएका छन ।



Post a Comment