नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा टुङ्ग्यायो उम्मेदवार,कैलाली २ बाट अरुण चौधरी

कैलाली-आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुंगो लगाएको छ।


५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित छ ।


त्यस्तै, क्षेत्र नं. २ बाट अरुण चौधरी, क्षेत्र नं. ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको छ। क्षेत्र नं. ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने छन । सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं. ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ।




३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं. १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं. २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको छ ।


त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा. प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं. २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ ।

Post a Comment

Previous Post Next Post