सुर्खेत : १० वर्षदेखि पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले अलपत्र पारेपछि रानिघाटमा फेरि निर्माणको काम शुरु गरिएको छ । भेरी नदीमा निर्माधिन पक्की पुल वीरेन्द्रनगरबाट करिब पाँच किलोमिटर दूरीमा रहेको भेरी नदीमा पप्पुले समयमै निर्माण सम्पन्न नगरेपछि कालो सूचीमा राख्न सडक डिभिजन कार्यालय सुर्खेतले सिफारिस गरिसकेको छ । तर रानिघाटमा कार्यालयले माघसम्ममा सञ्चालन ल्याउने गरी फेरि निर्माणको कामलाई तिव्रता दिएको हो ।
भेरी नदी पारीका नागरिकहरुलाई सहज यातायातका लागि कार्यालयले यसअघि छिन्चु–जाजरकोट सडक खण्डको सल्लिबजारस्थित भेरीमा राखिएको फेरि रानिघाट ल्याइ पु¥याएको सडक डिभिजन कार्यालयका ईन्जिनियर तुलाराम शर्माले जानकारी दिए ।
‘प्रक्रियामा जाँदा पनि पक्की पुल निर्माण गर्न कम्तिमा दुई वर्ष लाग्छ,’ शर्माले भने, ‘सल्लीबजारमा जडान गरिएका फेरिका संरचना अब रानिघाट ल्याएर नदी पारिका नागरिकहलाई सहज यातायात सेवा दिने लक्ष्य राखेका छौं ।’
रानिघाटमा कार्यालयले ६० लाखको लागतमा फेरि निर्माणको जिम्मा बराह निर्माण सेवालाई दिएको छ । टावर राख्ने जगको काम सकिएको र टावर निर्माणको काम शुरु गर्न लागिएको शर्माले बताए । फेरि सञ्चालन आएपछि रानिघाट, तेलपानी, श्रीचौर, बरपानी लगायतका नागरिकहरु लाभान्वित बन्नेछन् ।
रानीघाटदेखि तेलपानीसम्म यसअघि नै सडक पु¥याइएको छ । यी क्षेत्रमा बराहताल गाउँपालिकाका १, २ र ३ नम्बर वडा पर्छन् । ३ नम्बर वडा कार्यालयको केन्द्र रहेको सुकुरमाला बाहेक दुई वडामा यसअघि नै सडक पुगिसकेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी बताउँछन् ।
‘पक्की पुल पनि समयमै निर्माण सम्पन्न गर्न नयाँ प्रक्रियालाई छिटा गर्न दवाव दिइरहेको छु,’ भण्डारीले भने, ‘वर्षौदेखि नदीका कारण भेरी पारीका नागरिकहरु यातायात सेवाबाट बञ्चित छन् । तत्कालको लागि फेरि सञ्चालनमा आए केही सहज हुनेछ तर दीर्घकालिन रुपमा पक्की पुल निर्माणमा जोड दिइरहेको छु ।’ फेरि सञ्चालन आएपछि तीन वटै वडाको सडकलाई स्तरोन्नति गर्ने र बाह्रै महिना सवारी सञ्चालन गर्नमा पालिका कटिवद्ध रहेको भण्डारीले बताए ।
तेलपानीसम्म सवारी पुगेपछि तराई क्षेत्रको अवलोकन गर्न जाने बाह्य र आन्तरिक पर्यटकहरुलाई सहज हुने अपेक्षा पालिकाको छ । यो सडक कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बर्दिया, सुदूरपश्चिमका कैलाली र धनगढी जोड्ने दुत्रमार्गको रुपमा लिइन्छ । भेरी नदीमा पुल र सडक निर्माण सम्पन्न भएपछि सुर्खेतदेखि लुम्बिनी प्रदेशसम्मको दूरी ५२ किलोमिटर छोटो हुनेछ । हाल लुम्बिनी प्रदेशको बाँके र सुर्खेतसम्मको दूरी ८६ किलोमिटर छ ।
.jpg)
Post a Comment