सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना पुरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। वीरेन्द्रनगरमा आज बुधबार सहिद याम बिसी स्मृति प्रतिष्ठानले गरेको ७औं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री बुढाक्षेत्रीले यस्तो बताएका हुन्।
संघीयता प्राप्ती पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तीको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने ४ जनालाई कर्णाली सरकारले उच्च सम्मान गरिरहेको समेत बताएका छन । लोकतन्त्रको सुन्दर पक्ष संघीयता कार्यान्वयन भएको भन्दै कर्णालीलाई जन्माउने सहिदहरुका सपना पुरा गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए।
‘कर्णाली प्राकृतिक सम्पदामा धनी छ, यसलाई हामीले अतिकत् प्रयोगमा ल्याउन सकेको खण्डमा समृद्ध कर्णाली बनाउन सकिन्छ।’ मन्त्री बुढाक्षेत्रीले भने ‘संघीय संरचना अनुसारका अधिकार प्रयोग गरी कर्णालीलाई अगाडि बढाउने जिम्मेवारी हामी सबैको हो, हामी मिलेर अगाडि बढ्न सकेनौ भने सहिदका सपना कदापी पुरा हुने छैनन्।’
सहिदको सम्झनामा प्रादेशिक सहिद पार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जिविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने बताए ।
देश संघीयतामा गएसँगै साविक मध्यपश्चिमलाई सिमाङ्कनमा सुदुरपश्चिमसँग गाभिएपछि अखण्ड मध्यपश्चिमको माग राख्दै सुरु भएको आन्दोलन हिन्सात्मक बन्न पुग्यो। २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि सुर्खेतका ३ र जुम्लामा एकजनाको मृत्यु भयो।
सिमाकंनमा असन्तुष्टी जनाउँदै भएको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भयो । प्रदेश प्राप्तीका लागि भएको आन्दोलनले आज साउन २५ बाट ठिक ७ वर्ष पुरा गरेको छ।

Post a Comment