अख्तियारद्धारा सडक निर्माणमा अनियमितता गर्ने १० जनाविरुद्ध मुद्दा दायर

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत, डिभिजन वन अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीले विभिन्न आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा न.।७ टोप्ला गाउँमा आ.व. २०७६–०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन पदमार्ग निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालिन डिभिजन वन अधिकृत भरतबहादुर बुढ्थापा, सव इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सव इन्जिनियर हिमालकुमार मल्लसहित उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Post a Comment

Previous Post Next Post