स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको छ । उहाँले संघ र प्रदेशका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्ने बताउनु भयो ।

नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनुभयो । ‘स्थानीय तह जनताको चुल्होको सरकार हो,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘चुल्होको सरकारलाई अधिकार सम्पन्न नबनाइँदासम्म देशको विकास हुन सक्दैन् ।’ 

मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई देखिने र संघीय सरकारलाई सुनिने सरकार भएको बताउनुभयो । ‘देखिने र सुनिने सरकारबाट सञ्चालन हुने योजनाहरुको कार्यान्वयन जनताको चुल्होको सरकारलाई दिइनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश सरकार जहिल्यै स्थानीय तहलाई सँगसँगै लिएर काम गरिरहेको छ ।’

उहाँलेस्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने बताउनुभयो । ‘स्थानीय, प्रदेश हुँदै संघले बजेट ल्याउँदा आवश्यकता र औचित्यताका आधारमा काम हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘माथिबाट बजेट सार्वजनिक गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।’

मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तह बलियो नहुँदासम्म देशको विकास हुन नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले जनसंख्यालाई आधार मानेर बजेट पठाइँदा कर्णालीलाई अन्याय भएको बताउनुभयो । ‘२१.५ प्रतिशत भूगोल ओगटेको कर्णालीमा १७ लाख भन्दा कम जनसंख्या छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘जनसंख्यालाई आधार मानेर बजेट छुट्याइँदा कर्णालीलाई अन्याय भएको छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारले ‘६ब’को नीति लिएको बताउनुभयो । ‘समृद्ध कर्णाली ः सुखारी कर्णालीबासीको दीर्घकालीन सोचलाई पूरा गर्नका लागि प्रदेश सरकारले ‘६ब’ (बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचार) को नीति लिएको छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यसको कार्यान्वयनका लागि स्थानीय तहको भूमिका र अग्रसरता महत्वपूर्ण हुन्छ ।’

मुख्यमन्त्री शाहीले स्थानीय तहका जनप्रतिनिधिहरुले ‘सरकार’को अर्थ बुझ्न आवश्यक रहेको बताउनुभयो । सकारात्मक, रचनात्मक कार्य गर्दै रणनीति बनाउने भएकाले सरकार भनिएको उहाँको भनाई छ । ‘विकास नहुनुका कारण मध्येको प्रमुख कारण बजेट समयमै कार्यान्वयन नहुनु हो,’ उहाँले भन्नुभयो, ‘चालू आर्थिक वर्षको सुरुबाटै काम भइदिए गुणस्तरीय हुनुका साथै आर्थिक वर्षको अन्त्यमा हुने बोझ पनि कम हुन्थ्यो ।’ 


Post a Comment

Previous Post Next Post