सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मधुवन बिसी

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष तथा पत्रकार मधुवन बिसीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।

संघको २०८३ साल साउन १९ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार बिसीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको हो। संघका अध्यक्ष हर्षविक्रम खड्काले बिसीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

पत्रकारिता क्षेत्रमा बिसीले पुर्‍याउँदै आएको योगदान तथा नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्षका रूपमा निर्वाह गरिरहेको भूमिकालाई मध्यनजर गर्दै प्रेस सल्लाहकार नियुक्त गरिएको संघले जनाएको छ। संघले विगतदेखि नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्षलाई प्रेस सल्लाहकार नियुक्त गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ।

प्रेस सल्लाहकारको नियुक्तिसँगै संघ र सञ्चार क्षेत्रबीचको सम्बन्ध थप सुदृढ हुने संघको विश्वास छ। संघका गतिविधि, उद्योगी–व्यवसायीका समस्या तथा निजी क्षेत्रका सवाललाई सम्बन्धित निकाय र आमनागरिकसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन प्रेस सल्लाहकारको भूमिका महत्वपूर्ण हुने संघले जनाएको छ।

नवनियुक्त प्रेस सल्लाहकार बिसीले आफूलाई दिइएको जिम्मेवारीलाई सञ्चार क्षेत्र र निजी क्षेत्रबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने अवसरका रूपमा लिएको बताए। उद्योगी–व्यवसायीका समस्या, निजी क्षेत्रका सवाल तथा संघका गतिविधिलाई सञ्चारमाध्यममार्फत तथ्यपूर्ण र प्रभावकारी रूपमा सार्वजनिक गर्न आफ्नो भूमिका रहने उनले बताए।

संघका अध्यक्ष हर्षविक्रम खड्काले उद्योगी–व्यवसायीका समस्या, संघका गतिविधि तथा निजी क्षेत्रका मुद्दालाई सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको बताए। बिसीको नियुक्तिले संघको संस्थागत गतिविधिको प्रचार–प्रसारसँगै सञ्चार क्षेत्रसँगको समन्वय थप मजबुत हुने विश्वास उनले व्यक्त गरे।

संघले नवनियुक्त प्रेस सल्लाहकार बिसीले पेसागत जिम्मेवारी, गोपनीयता तथा संस्थागत हितलाई कायम राख्दै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरेको जनाएको छ। बिसीले आगामी दिनमा संघ र सञ्चार क्षेत्रबीच थप सहकार्य र समन्वय गर्दै उद्योगी–व्यवसायीका सवाललाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

Post a Comment

Previous Post Next Post