सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि बुधबार एमालेका तीन मन्त्रीले शपथ लिएका हुन् ।
एमालेबाट टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जितबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराए ।
मन्त्रालयको भागबन्डा टुंगिन नसक्दा तीन सातादेखि कर्णाली सरकार विस्तार हुन सकेको थिएन । एमाले र नेकपाबीच बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि सरकार विस्तारको गाँठो फुकेको हो ।
सहमति अनुसार एमालेले तीन मन्त्रालय पाएको छ भने नेकपाको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय परेको छ । एमालेले आफ्ना मन्त्रीको नाम टुंगो लगाए पनि नेकपाले आफ्नो भागमा परेका तीन मन्त्रालयका लागि मन्त्री छनोट गरिसकेको छैन ।
नेकपाले मन्त्रीको नाम टुंगो लगाएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । लामो समयदेखि मन्त्रालय बाँडफाँटमै अल्झिएको सत्तारूढ गठबन्धनबीच सहमति जुटेपछि सरकार सञ्चालनमा देखिएको अन्योलसमेत हटेको छ ।

Post a Comment