कर्णाली कप क्रिकेट प्रतियोगिता : उपाधिका लागि सुर्खेत र सल्यान भिड्दै

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेशस्तरीय कर्णाली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यान भिड्ने भएका छन् ।

बुधबार भएका सेमिफाइनलमा सुर्खेतले कालिकोटलाइ र सल्यानले रूकुम पश्चिमलाइ हराउँदै विहीबारको उपाधि भीडन्त पक्का गरेका हुन् ।

फाइनल यात्रा तय गर्ने क्रममा सुर्खेतले कालिकोटमाथि ११३ रनको शानदार जीत निकाल्यो भने सल्यानले रूकुम पश्चिममाथि ६९ रनको सहज जीत आत्मसाथ गर्यो ।

वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुर्खेतले सुधारिएको प्रदशर्न गर्ने क्रममा आक्रामक ब्याटिङ र घातक बलिङको गर्दै २० ओभरमा ३ विकेट सुरक्षित राख्दै १८७ रनको चुनौतिपूर्ण स्कोर खडा गर्यो ।

सुर्खेतको जीतमा निश्चल रावल र आभाष शाहको अर्धशतकीय पारि महत्वपूर्ण बन्यो। निश्चलले विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ५ चैका र ४ छक्कासहित ५९ रन बनाए ।

तीव्र रन बनाउने क्रममा आभाषलेपनि ३१ बलको सामना गर्दै ८ चौका र १ छक्कासहित ५१ रन जोडे । सुर्खेतका प्रकाश जैसीले २६ रन बटुल्दा कप्तान मनीष थापाले २३ रन बनाए ।

कालिकोटका लागि रमेश सिम्खडा र नवीन न्यौपानेले समान २–२ विकेट लिए। 

१८८ रनको लक्ष्य पछ्याएको कालिकोटको सुरुआत नै कमजोर रह्यो। टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै ११।५ ओभरमा ७४ रनमै अलआउट भयो। 

कालिकोटका रोशन शाहीले सर्वाधिक १२ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सुर्खेतको जीतमा कैलाश खड्का खेलका नायक बने। उनले केवल ३।५ ओभरमा १३ रन खर्चेर ७ विकेट लिँदै कालिकोटको ब्याटिङ लाइनअप ध्वस्त पारे। 

यसैगरी कालुङचोक मैदानमा टस हारेपनि पहिला ब्याटिंङ गरेको सल्यानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ योगफल बनायो ।

रूकुमका बलरविरूद्ध एक्लै हावी देखिएका दीपेन्द्र रावतले ५२ बलमा ७ चाौका र २ छक्काको मद्दतमा ७३ रन जोडेर जीतका लागि बलियो जग बसाले ।

यस्तै दीवान पुनले २७ रन जोड्दा मोहन केसी र सूर्य सुनारले समान १७ १७ रन बटुले भने बलिङतर्फ रूकुम पश्चिमका प्रतिक गिरीले ५ विकेट आफ्नो नाममा लेखाए। सल्यानले १९ रन अतिरिक्त पायो ।

१७४ को लक्ष्य पछ्याएको रूकुम ९४ रनमा प्याकअप भयो। जम्मा ५ रन अतिरिक्त दिने गरी अनुशासित बलिङ गरेको सल्यानका लागि चन्द्र बीसी, दिवान पुन र सन्दिप गन्दर्भले समान २ २ विकेट लिए ।

फाइनल खेल विहीबार विहान साढे ७ बजे वीरेन्द्रनगर मैदानमा हुने आयोजक कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post