सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी २० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
सन २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रतियोगिता आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा देशका सातवटै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने जानकारी दिए।
कर्णालीमा महिला क्रिकेटको इतिहासमा यो पहिलो राष्ट्रिय प्रतियोगिता भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिइएको उनल उल्लेख गरे।
खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको भन्दै यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
साथै, आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ ।
प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता अन्तर्गत हुने खेलहरू २२ खेलहरू वीरेन्द्रनगरको कालुङचोक र कर्णाली रंगशाला नजिकैको मैदानमा सञ्चालन गरिनेछ ।
विश्वकपका लागि खेलाडी छनोटको मुख्य थलो
सन् २०२७ मा हुने आईसीसी यू–१९ महिला विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने भाग्यमानी र प्रतिभाशाली खेलाडीहरू जन्माउने मुख्य थलोसमेत बन्ने आयोजकले जनाएको छ।
यसले कर्णालीका स्थानीय खेलाडी मात्र नभई देशभरका प्रतिभावान महिला क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ। यो प्रतियोगिताले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बलियो आधार तयार गर्ने आयोजकको अपेक्षा छ ।
कर्णालीमा पहिलो पटक आयोजना हुन लागेको राष्रट्रियस्तरको यो प्रतियोगिता केवल एक औपचारिक खेल मात्र नभई कर्णालीलाई खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने कोषाध्यक्ष खड्काको भनाइ छ ।
कर्णालीमा गत वर्ष पुरुषतर्फको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेकाले क्यानले कर्णालीलाई यो दोस्रो ठूलो अवसर सुम्पेको उहाँको भनाइ छ । यसलाई कर्णाली क्रिकेटले आफ्नो क्षमता प्रमाणित गर्ने गौरव र अवसर दुबै रूपमा लिएको उनले बताए ।
विजेतालाई ५ लाख पुरस्कार
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रू,५,००,००० (पाँच लाख) र उपविजेता टोलीले रू,३,००,००० ९तीन लाख० प्राप्त गर्नेछन्।
त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई रू, ४०,०००, उत्कृष्ट ब्याटरलाई रू,२५,०००, उत्कृष्ट बलरलाई रू, २५,००० र प्रत्येक खेलको प्लेयर अफ द म्याचु लाई जनही ३,००० प्रदान गरिने आयोजकले जनाएको छ।
तयारी तीव्र
प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवा लगायतका आवश्यक व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन्।
क्यानका कोषाध्यक्ष खड्काले राष्ट्रिय गौरवसँग जोडिएको यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी, नागरिक समाज र सम्पूर्ण सरोकारवालाहरूलाई सकारात्मक प्रचारप्रसार र सहयोगका लागि अपिल गरे।
यस अवसरमा आयोजकले प्रतियोगिता सफल पार्न सहयोग गर्ने कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरू, सुरक्षा निकाय, प्रायोजक तथा सञ्चार माध्यमहरूप्रति हार्दिक आभारसमेत व्यक्त गरेको छ।

Post a Comment