तेस्रो एक्सट्रिम काँक्रेविहार हाफ म्याराथन : विजेताले पाउनेछन् १ लाख ५० हजार

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुन लागेको तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथनको पुरस्कार राशि वृद्धि गरिएको छ। ुदौडिन्छ कर्णालीु नारासहित सञ्चालन हुने प्रतियोगितामा यसअघि निर्धारण गरिएकोभन्दा बढी पुरस्कार दिने निर्णय गरिएको आयोजकले जनाएको छ।

आयोजकले शुक्रबार प्रतियोगिताको मस्कट र आधिकारिक टिसर्ट सार्वजनिक गर्दै पुरस्कार वृद्धि गरिएको जानकारी दिएको हो। संशोधित पुरस्कार संरचनाअनुसार २१ किलोमिटर हाफ म्याराथनतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार रुपैयाँ र द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिला हाफ म्याराथन तथा विद्यालयस्तरीय छात्र–छात्रा दौडका पुरस्कार राशिसमेत बढाइएको आयोजकले जनाएको छ।

आयोजक मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषका लागि २१ किलोमिटर हाफ म्याराथन, महिलाका लागि १० किलोमिटर दौड तथा विद्यालयस्तरीय छात्र–छात्राका लागि ५ किलोमिटर दौड आयोजना गरिनेछ।

२१ किलोमिटर हाफ म्याराथनको रुट वीरेन्द्रचोकबाट सुरु भई मंगलगढी, विमानस्थल, धुलियाबिट र सुब्बाकुना पुगेर पुनः सुब्बाकुना–मंगलगढी–बाङ्गेसिमल हुँदै वीरेन्द्रचोकमै आएर समापन हुनेछ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेको अवसरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यस वर्ष प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुन लागेको हो।

दौडिन्छ कर्णाली अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले परिषद्को अनुरोधमा विगत दुई वर्षदेखि मिड वेस्टर्न फिटनेस सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको आयोजकले जनाएको छ।

कर्णालीमा दौड संस्कृतिको विकास गर्ने लक्ष्यसहित परिषद्ले जुम्लाको रारा म्याराथन र सुर्खेतको काँक्रेविहार हाफ म्याराथनका लागि वार्षिक बजेट उपलब्ध गराउँदै आएको छ। परिषद्का अनुसार म्याराथनजस्ता प्रतियोगिता आफैं सञ्चालन गर्नु व्यावहारिक रूपमा कठिन भएकाले खेलकुद संस्थामार्फत आयोजना गरिँदै आएको हो।

Post a Comment

Previous Post Next Post