सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप आयोजना हुने भएको छ। अन्तर्राष्ट्रियस्तरको कर्णाली प्रदेश रंगशालामा असार ५, ६ र ७ गते सञ्चालन हुने प्रतियोगितामा देशभरका २४० खेलाडीले २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाल एथलेटिक्स संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुने प्रतियोगितामा पुरुष र महिलातर्फ समान १४र१४ इभेन्ट्स समावेश गरिएको छ। प्रतियोगितामा सात प्रदेशका टोलीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० गरी १० टोलीको सहभागिता रहनेछ। कुल १२० महिला र १२० पुरुष खेलाडीले १०० मिटरदेखि १० हजार मिटर दौड, लङजम्प, ट्रिपल जम्प, डिस्कस, सटपुट, ज्याभलिन थ्रो तथा रिले दौडमा प्रतिस्पर्धा गर्नेछन्।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहका अनुसार प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ। विजेता खेलाडीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा खेलाडी, प्रशिक्षक, म्यानेजर, प्राविधिक तथा अफिसियल गरी करिब ३२० जनाको सहभागिता रहनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार कर्णालीमा पहिलो पटक राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुन लागेकाले यसले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई समेत थप सहज बनाउने अपेक्षा गरिएको छ।

Post a Comment