निर्वाचन सुधार, सुशासन र युवा सहभागिताबारे युवासँग संवाद

सुर्खेत : निर्वाचन सुधार, सुशासन तथा राजनीतिमा युवाको सहभागिता र प्रतिनिधित्वका विषयमा केन्द्रित पर्पल राजनीतिक संवाद कार्यक्रम अन्तर्गत युवासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

युवाहरूको राजनीतिक, सामाजिक तथा नीतिगत निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा निर्वाचन प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, नेतृत्व विकास तथा राज्यका विभिन्न तहमा युवाको प्रतिनिधित्व बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले वर्तमान निर्वाचन प्रणालीमा देखिएका चुनौती, युवाको राजनीतिक पहुँच, नेतृत्वमा अवसरको अभाव तथा नीतिनिर्माण तहमा युवाको प्रभावकारी सहभागिताका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन निर्वाचन प्रक्रियालाई पारदर्शी, उत्तरदायी र समावेशी बनाउनुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा सुशासन कायम गर्न राज्यका निकायहरू थप जिम्मेवार र जवाफदेही बन्नुपर्ने, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषय पनि उठाइएको थियो। सहभागीहरूले युवालाई केवल मतदाता वा राजनीतिक कार्यकर्ताका रूपमा मात्र नभई नीतिनिर्माता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न आवश्यक रहेको बताएका थिए।

कार्यक्रमको संयोजन जनस्वास्थ्य सेवामा आबद्ध मनिषा न्यौपानेले गरेकी थिइन्। उनले युवाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने तथा लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरिएको बताइन्। युवाका विचार, अनुभव र सुझावलाई संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरिन्।

कार्यक्रममा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता संवाद कार्यक्रमले युवालाई आफ्ना विचार राख्ने अवसर प्रदान गर्नुका साथै लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।



Post a Comment

Previous Post Next Post