सुर्खेत : १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको केन्द्रीय स्तरमा सहभागी हुन छनोट भएका कर्णाली प्रदेशका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सोमबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शुभकामना सहित बिदाइ गरेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्, वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष घनश्याम भण्डारीको प्रमुख आतिथ्यमा करिब ११५ जना खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको हो ।
मन्त्री भण्डारीले खेलकुद क्षेत्रले प्रदेशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूले अनुशासित र उत्कृष्ट प्रदर्शनमार्फत कर्णालीको गौरव बढाउने विश्वास व्यक्त गरे । उनले खेलाडीको क्षमता विकास तथा खेलकुद पूर्वाधार विस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा परिषद्का सदस्य सचिव रविन्द्र चन्द, सदस्यहरू भीमकुमारी भुसाल, पङ्खबहादुर शाही, गोरखाबहादुर शाही, किशोर किरण सापकोटा, पवनकुमार थापा तथा शिक्षा अधिकृत हर्कबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट कराते, तेक्वान्दो, उसु, एथलेटिक्स, कबड्डी र भलिबल विधाका खेलाडीहरूले सहभागिता जनाउनेछन् । विभिन्न जिल्ला तथा विद्यालयस्तरीय छनोट पार गर्दै केन्द्रीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरू उत्कृष्ट प्रदर्शनको तयारीमा छन् ।
कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई खादा तथा शुभकामना प्रदान गर्दै सफल प्रतियोगिताको कामना गरिएको थियो । परिषद्ले कर्णालीका खेलाडीहरूबाट राष्ट्रिय स्तरमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरेको छ ।
१६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय तहको सबैभन्दा ठूलो राष्ट्रिय खेल प्रतियोगिताका रूपमा लिइन्छ । यस प्रतियोगिताले देशभरका प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता विकास तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

.jpeg)

Post a Comment