सुर्खेत : सुर्खेतमा तीन महिनाअघि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर गत शनिबारको ठुला हावाहुरीका कारण ढलेपछि बनाउन थालिएको छ । बुधबारदेखि ती टावर पुनः बनाउन थालिएको हो ।
हावाहुरीले बाँकेको चिसापानी नजिक कृष्ण सामुदायिक वनभित्रका दुई वटा टावर पोल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका अनुसार बुधबारदेखि क्षतिग्रस्त भएका पोल हटाई नयाँ जग बनाउन सुरु गरिएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर रितेश जयसवालले बुधबारदेखि क्षतिग्रस्त स्थानमा नयाँ पोल राख्न जग बनाउने काम सुरु गरिएको जानकारी दिए । हुरीले ४४ र ४५ नम्बरका पोलमा क्षति पु¥याएको थियो । उनले भने विद्युत् ल्याउँदा लाइनको दायाँबायाँ गरी १८ मिटर क्षेत्रमा पर्ने वन सफा गरी प्रसारण लाइन सुर्खेतमा ल्याइएको थियो ।
हावाहुरीले २२ मिटर टाढाको ३८ मिटर लामो र तीन मिटर मोटाइ भएको रुख ढालेपछि लाइनमा पर्दा दुई वटा पोल पूर्ण रूपमा भाँच्चिएको उनले बताए । टावरभन्दा अग्ला रुख ढल्दा क्षति भएको हो । आयोजनासँग पोल मौज्दात रहेकाले प्राविधिक र विगतको निर्माण कम्पनी लगाएर बनाउन सुरु गरिएको जानकारी इन्जिनियर जयसवालले जानकारी दिए ।
दुई वटा पोल ढलेपछि सुर्खेत आउने १३२ केभी विद्युत्को लाइन रोकिएको छ । ती दुई वटा टावर पुल पूर्ण रूपमा बनाउन कम्तीमा एक महिना लाग्ने बताए । उनले भने, “एक महिनाभन्दा अगाडि नै काम सक्ने तयारी छ ।”
.jpg)
Post a Comment