वीरेन्द्रनगरले मनायो ५० औँ स्थापना दिवस

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार आफ्नो ५० औँ स्थापना दिवस मनाएको छ । वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत घोषणा गरिएको थियो । नेपाल सरकारले २०७१ वैशाख २५ गतेको निर्णयबमोजिम साबिकका उत्तरगंगा र लाटीकोइली गाविसलाई गाभेर विस्तारित नगर घोषणा गरिएको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउँदै आएको हो । 

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीका रुपमा मात्र नभई पश्चिम नेपालको उदाउँदो शहरका रुपमा नगरले आफ्नो पहिचान स्थापित गरेको दाबी गरिन् । उनले २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन यता नगरमा विभिन्न उपलब्धिहरु हाँसिल गरेको भन्दै अधिकांश ठूला योजनाहरु उल्लेखनीय रुपमा अगाडी बढेको दाबी गरिन् । 

ढकालका अनुसार नगरपालिकाले शिक्षाको दश वर्षे रणनीति तयार गरी स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालयसँग वार्षिक दुई करोड रुपैयाँको सहकार्य गरिएको उनले बताइन् । उच्च शिक्षामा पहुँच विस्तार तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम लागू गरिएको उनको भनाइ छ ।

उनले बुलबुले उद्यानको थप विकास, ताल विस्तार र बोटिङ सेवा व्यवस्थापन गरिएको जानकारी दिइन् । भेरी नदी किनारमा आर्यघाट तथा प्रतिक्षालय निर्माण, घण्टाघर पार्क र दक्षिण पार्क निर्माण, बसपार्क विस्तार तथा कर्णाली बसपार्क निर्माण प्रक्रिया अघि बढाइएको उनले बताइन् । साथै, मिलन पार्क निर्माण, गोदामलाइन पार्किङ निर्माण तथा वीरेन्द्रचोकमा ट्राफिक लाइट जडानले सहर व्यवस्थापनमा सहजता ल्याएको उनको भनाइ थियो ।

नेताचोक–आँखा अस्पताल सडक स्तरोन्नति, सडक बत्ती विस्तार तथा उज्यालो नगर अभियानले नगरको सौन्दर्यसँगै सुरक्षा व्यवस्थामा सुधार आएको ढकालले बताइन् । सहर सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको उनले जानकारी दिइन् ।

कर्णाली प्रदेशकै पहिलो आकाशेपुल मंगलगढी चोकमा निर्माणाधीन अवस्थामा रहेको र भेरी पम्पिङ खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ थियो । उक्त आयोजनाले उपत्यकामा वर्षौंदेखि रहेको खानेपानी अभाव समाधान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

स्वास्थ्य क्षेत्रमा निःशुल्क स्यानेटरी प्याड वितरण, ‘हेलो गर्भवती आमा’ कार्यक्रम तथा विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । रक्तसञ्चार केन्द्र सुर्खेतसँगको सहकार्यमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ ।

ढकालले नगरपालिकाको एकीकृत प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै वडामा भवन निर्माण तथा वडा तहसम्म विद्युतीय सुशासन विस्तार गरिएको बताइन् । प्रशासनिक प्रणालीलाई आधुनिक बनाइएको र योजनाको व्यवस्थापन प्रभावकारी बनाउन सफ्टवेयर प्रणाली लागू गरिएको उनको भनाइ थियो ।

उनका अनुसार वडास्तरमै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको छ भने अनुगमन तथा सुपरिवेक्षण समितिबाट मूल्यांकन गरेपछि मात्रै भुक्तानी दिने प्रणाली लागू गरिएको छ । नगरको समग्र विकासलाई मार्गदर्शन गर्न पञ्चवर्षीय योजना पनि तयार गरिएको उनले बताइन् ।

फोहरमैला व्यवस्थापनमा वैज्ञानिक प्रणाली सुरु गरिएको तथा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन् । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सचेतना कार्यक्रम तथा उद्धार संयन्त्रलाई सुदृढ बनाइएको उनको भनाइ थियो ।

बालमैत्री स्थानीय शासनअन्तर्गत बालबालिकाको अधिकार सुनिश्चित गर्ने नीति तथा कार्यक्रम लागू गरिएको ढकालले बताइन् । शिव मन्दिर, काँक्रेविहार, बुलबुले, गढी तथा गुम्बालगायत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका काम भइरहेको उनको भनाइ थियो । ती क्षेत्रमा सडक, खानेपानी, सरसफाइ, विश्रामस्थल तथा सूचना केन्द्र निर्माण गरिएकाले पर्यटक आकर्षण बढेको उनले बताइन् ।

स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, कानुन तथा नीति निर्माण गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा वीरेन्द्रनगरले ६१.८६ अंकसहित सुर्खेत जिल्लामै दोस्रो स्थान हासिल गरेको उनको भनाइ थियो ।

संघीय सरकार, कर्णाली प्रदेश सरकार तथा विकास साझेदारसँग समन्वय गरी सडक सञ्जाल विस्तार, चक्रपथ निर्माण र पर्यटकीय क्षेत्र प्रवद्र्धनका योजना अघि बढाइएको ढकालले बताइन् । अन्तरसरकारी वित्त परिषद्, राष्ट्रिय विकास परिषद् तथा खानेपानी मन्त्रालयका बैठकमार्फत वीरेन्द्रनगरका समस्या र आवश्यकताबारे संघीय सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो ।

यद्यपि तीव्र शहरीकरण, बढ्दो जनसंख्या, सीमित स्रोत–साधन र बढ्दो सेवा माग अझै चुनौतीका रुपमा रहेको उनले स्वीकार गरिन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भए पनि भूमि आयोग सक्रिय नहुँदा काम अघि बढ्न नसकेको उनले बताइन् । ढकालले चुनौतीका बाबजुद वीरेन्द्रनगरलाई दिगो, समावेशी, व्यवस्थित र नमुना सहर बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्रीको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि  भइरहेका ज्यादती बन्द गर्न  सरकारलाई आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा  नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले  सर्वसाधारण त्रसित बनेको बताए । ’लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ’जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन् ।’


मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः  समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे ।

प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले निर्वाचित भइसकेपछि यो पार्टी त्यो पार्टी भन्दापनि जनताका साझा मुद्दामा काम गर्नुपर्ने बताए । उनले वीरेन्द्रनगरको विकासका लागि आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए । 

सात पत्रकार पुरस्कृत

नगरपालिकाको स्थापना दिवसका अवसरमा सात जना पत्रकारलाई पुरस्कृत गरिएको छ । वीरेन्द्रनगरलाई कर्मथलो बनाएर पत्रकारिताका माध्यमबाट सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगद रकम र कदरपत्रले सम्मान गरेका छन् ।

पुरस्कृत हुने पत्रकारहरुमा शिलापत्र डटकममा कार्यरत ओम शाही, राजधानी दैनिकका प्रकाश अधिकारी, गोरखापत्र दैनिकका रजनी योगी, बाह्रखरी डटकमका विवशकुमार सेजुवाल, रेडियो भेरीका मधुवन विसी, हिमाल प्रेसका रमा केसी र अनलाइन खबरका यज्ञ खत्री छन् ।

यसैबीच, नगरपालिकाले नगरभित्रका उत्कृष्ट विद्यालय, विद्यार्थी, वडा, टोललगायतलाई पुरस्कृत गरेको छ । उत्कृष्ट विद्यालयतर्फ जनजागृति प्राथमिक विद्यालय पदमपुर, छवि आधारभुत विद्यालय, कालागाउँ, जन नमुना माध्यमिक विद्यालय र अमरज्योति नमुना माविलाई पुरस्कृत गरिएको हो । 

यस्तै, वर्ष उत्कृष्ट प्रधानाध्यापक प्रावितर्फ हितकुमारी खड्का, निमावितर्फ गौरीसरा सारु र मावितर्फ भक्तबहादुर जिसीलाई पुरस्कृत गरिएको छ । वर्ष उत्कृष्ट शिक्षकतर्फ जनमाविका गजेन्द्र पुन, जुनतारा माविकी लंका योगी र जनसेवा मावि घुस्राका दोर्ण विसी पुरस्कृत भएका छन् । यस्तै, नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने कक्षा ८, एसइई र कक्षा १२ का विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ । 

स्थापना दिवसको अवसरमा नगरपालिकाले उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल, उत्कृष्ट टोल विकास अध्यक्षलगायतलाई पनि सम्मान गरेको छ । 

यसैबिच, स्थापना दिवसको अवसरमा नगरप्रहरीले कवाज प्रस्तुत गरेका थिए । त्यसअवसरमा विपद् कृत्रिम व्यवस्थापनसम्बन्धी अभ्यास पनि गराइएको थियो । युएनडीपीअन्तर्गत सुपर–२ परियोजनामार्फत तत्काल आगलागी भएमा तथा भुकम्प आएमा तत्काल गर्नुपर्ने व्यवस्थापनसम्बन्धी कामको बारेमा अभ्यास गराइएको हो । 


Post a Comment

Previous Post Next Post