कर्णालीमा शनिबारदेखि युवा महोत्सवको दोस्रो संस्करण सुरु हुदै

सुर्खेत : कणाली प्रदेशमा शनिबारदेखि कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ । शनिबारदेखि १९ र २० वैशाख वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएका छन् । गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृत रूपमा महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकको दाबी छ ।

परिवर्तनका लागि युवा, राष्ट्रिय युवा परिषद्, राष्ट्र निर्माण मञ्च नेपाल, प्लेयिङ फर चेन्ज र कर्णाली युथ फाउन्डेसनलगायत संस्थाहरू यस महोत्सवका आयोजक तथा सह-आयोजकका रूपमा छन् ।

कर्णालीका युवाहरूका लागि आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीको रूपमा दोस्रो संस्करण गर्न लागेका छौँ, मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले भने, कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, र स्वास्थ्य जस्ता विषयमा गहन छलफल हुनेछ ।

यस्तै, वक्तृत्वकला, क्षितिज समर्पणद्वारा लिखित पुस्तक तोरकिन र ओम रिजालद्वारा लिखित पैकेलोको चर्चा गरिने जनाइएको छ । कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्णालीका उत्कृष्ट १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मानित गरिने शाहीले बताए । महोत्सवमा कर्णालीको मौलिक देउडा खेल, सांगीतिक र साहित्यिक प्रस्तुतिहरू पनि समावेश हुने जनाइएको छ ।

Post a Comment

Previous Post Next Post