सुर्खेत : फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।
केही वर्षअघिसम्म काठमाण्डौ उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।
तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने परम्परा छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।
प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ ।
विभिन्न सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन् । सबै ठाउँमा आपसी सद्भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको पाइन्छ ।

Post a Comment