कर्णालीका २७ मतदान स्थलमा हेलिकप्टर मार्फत निर्वाचन सामग्री पुर्‍याउदै

सुर्खेत : कर्णाली प्रदेशका हिमाली जिल्लाका २७ मतदान स्थलमा निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले शनिबारदेखि काम सुरु गरेको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला र डोल्लाका चार स्थानीय तहका २७ मतदान स्थलमा जिल्ला प्रशासन कार्यालयको निर्णय र मागका आधारमा नेपाली सेनाले हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन लागेको हो । भौगोलिक रूपमा दुर्गम र यातायातको पहुँच नपुगेका मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट कर्मचारी र निर्वाचनका सामग्री पर्‍याउन सुरु गरिएको हो ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान स्थल रहेका छन् । यस्तै हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

हुम्लाको नाम्खा गाउँपालिकाको हिमशिखर आधारभूत विद्यालय तिल, हिमाल आधारभूत विद्यालय चाला, भृकुटी आधारभूत विद्यालय जाङ्ग र सुनखानी आधारभूत विद्यालय हल्जीमा रहेका मतदान स्थलमा हिउँ जमेकाले निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन समस्या छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार पछिल्लो समयमा परेको हिँउले सडक अवरुद्ध भएका कारण हेलिकप्टरको प्रयोग गर्ने बाध्यता आएको हो ।

यस्तै डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका स्थानीय तहमा पनि सेनाको हेलिकप्टरबाट सामग्री र कर्मचारी पुर्‍याउन सुरु भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले शनिबारदेखि नै सेनाको हेलिकप्टरबाट दुर्गममा रहेका निर्वाचन क्षेत्रमा सामान र कर्मचारी पठाइसकेको बताइन् । ‘जमेको हिउँ नपग्लिएका कारण निर्वाचन गराउने कर्मचारी पुर्‍याउन र ल्याउनका लागि हेलिकप्टर आवश्यक छ,’ उनले भनिन्, ‘यहाँका २३ वटै मतदान स्थलमा कर्मचारी खटाउने र सामग्री पठाउने काम सुरु भएको छ ।’

छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट, पुङ्गाबगर, मतदान स्थलमा जान समस्या छ । यस्तै डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग हुने भएको छ ।

Post a Comment

Previous Post Next Post