यस्ता छन् सुर्खेतमा अपांगताको क्षेत्रमा भएका सुधारका कामहरु

 सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय अपांग महासंघको अगुवाईमा अपांगताको क्षेत्रमा विभिन्न सुधारका कामहरु भएका छन् । अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघले प्रदेश राजधानीमा विभिन्न सुधारका कामहरु भएको जनाएको हो । 

महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्माले प्रदेश गौरवको आयोजना प्रदेश रंगशालालाई महासंघको अगुवाईमा अपांगतामैत्री बनाउन सफल भएको बताए । उनले विगतमा रंगशाला बन्दै गर्दा अपांगतामैत्री नभएको थाहा पाएपछि प्रदेश खेलकुद समितिसँग समन्वय गरी अपांगतामैत्री बनाउन सफल भएको बताए । अहिले कम्तीमा ३० जना अपांगतामैत्री व्यक्तिहरु बस्न मिल्ने, आवतजावत गर्न मिल्ने स्थान बनाइएको छभने शौचालय पनि अपांगतामैत्री बनेको जानकारी उनले दिए । 

यसैगरी प्रदेशमा अपांगता समन्वय समितिपनि गठन भएको छ । उनले समितिमार्फत अपांगतामैत्री नीति बनाउनेदेखि अन्य कामहरु पनि भइरहेकोले यो पनि उपलव्धी भएको बताए । साथै प्रदेशका विभिन्न संरचनाहरुको पनि सामाजिक परीक्षण गर्ने काम पनि भएको छभने प्रदेश लोक सेवा आयोगले आफ्ना प्रश्नपत्रमा कम्तीमा दुई वटा अपांगतासम्वन्धी प्रश्नावली समेट्ने प्रतिवद्धता आएकोले यो पनि सुधारको विषय भएको प्रदेश अध्यक्ष शर्माले जानकारी दिए । 

कर्णाली प्रदेशमा ३.१४ प्रतिशत अपांगता भएका व्यक्तिहरु रहेकोले केही महत्वपूर्ण सुधारहरु भएपनि गर्नुपर्ने कामहरु अझै बाँकी रहेको जनाइएको छ । धेरैजसो भौतिक संरचना र संचार सेवाहरु अपांगतामैत्री नभएको, सेवाहरु सहजरुपमा उपभोग गर्न नपाएको, पूर्ण असक्त, बौद्धिक अपांगता भएका व्यक्ति, अटिजम, हेमोफेलियाजस्ता समस्याबाट प्रभावित व्यक्तिहरु राज्यको शिक्षा र स्वास्थ्य सेवाहरु उपलव्ध हुन नसकेकोजस्ता समस्याहरु भोग्नुपरेको जानकारी  दिए । 

साथै आगामी दिनमा प्रदेश तथा स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुका लागि प्रादेशिक तथा स्थानीय नीति निर्माण गर्नुपर्ने, नेपालका सवै समावेसी विकासका गतिविधिमा अपांगता भएका व्यक्तिका आवश्यकता र सवालहरुलाई समावेश गर्नुपर्ने, प्रदेश तथा स्थानीय स्तरमा अपांगता अध्ययन तथा सशक्तिकरण प्रतिष्ठान गठन गर्नुपर्ने, प्रदेश योजना आयोगले विशेष सशक्तिकरणको व्यवस्था गर्न योजना ल्याउनुपर्ने,  प्रदेश सरकारले एक विद्यालय एक मनोसामाजिक परामर्शकर्ता, एक पालिका एक मनोसामाजिक परामर्शकर्ता राख्ने नीति ल्याउनुपर्ने माग गरिएको छ ।

यसैगरी दिवसको अवसरमा विभिन्न साझेदार संस्थाहरुको समन्वयमा कचहरी कार्यक्रम, दीप प्रज्ज्वलन, ¥याली, बास्केटबल प्रतियोगिता तथा शुभकामना सन्देशजस्ता कार्यक्रमहरु गरिने जानकारी अध्यक्ष शर्माले दिए । 

व्लिचियर बास्केटबल प्रतियोगिता

यसैविच अपांगता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज बुधवार प्रदेश रंगशालामा सेभ द चिल्ड्रेनको सहयोगमा स्पाइनल इन्जुरी संघको आयोजनामा मैत्रीपूर्ण व्हिलचियर बास्केट प्रतियोगिता हुने भएको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी गराइएको छ । 

संघका सल्लाहकार दिब्यराज खड्काले खेलकुदका माध्यमबाट सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना हुन लागेको बताए । समाजमा रहेका अवरोधहरु हटाइ सकारात्मक सन्देश पनि खेलको माध्यमबाट दिइने उनको भनाइ छ । पत्रकार सम्मेलनका कर्णालीका टिम कप्तान धर्म रावल र सुदूरपश्चिमका टिम कप्तान इन्द्र पालीले पनि प्रतियोगिताले सकारात्मक सन्देश दिने बताए ।



Post a Comment

Previous Post Next Post