कर्णाली प्रदेश अस्पतालका कर्मचारीले सेवाग्राहीसंग गर्ने व्यवहार सुधार गर्न निर्देशकले गरे हस्ताक्षर

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा कर्मचारीहरूको व्यवहारले सेवाग्राही हैरान भएको भन्दै जेनजीले अस्पतालका निर्देशकसंग व्यवहार सुधार गर्न सम्झौता गरेका छन् । 

कर्मचारीले सेवाग्राहीलाई निकै रुखो बोल्ने, थर्काउने गरेको गुनासोहरू आइरहेका छन् । बिहीबार जेनजी समूहले यही विषयमा प्रदेश अस्पतालका निर्देशक डा.गणेश थापासँग छलफल मात्रै चलाएन, कर्मचारीको व्यवहार सुधार गर्नुपर्ने विषयमा सम्झौता नै गरेको हुन । 

अस्पतालका निर्देशक डा.थापासँग जेनजी समूहका तर्फबाट प्रकाश खड्का लगायतका युवाहरूले पाँच बुँदे सहमति गरेका छन् । जसमा अस्पतालमाथि उठेका प्रश्नहरूलाई सुधार गर्नुपर्ने कुरा उल्लेख छ । 

‘इमर्जेन्सीमा आएका बिरामीहरूलाई अवस्था हेरी कागजी प्रक्रियालाई सहजीकरण गरी थप व्यवस्थित गर्नुपर्ने छ,’ सम्झौतामा भनिएको छ, ‘कर्मचारीहरूको व्यवहारलाई सुधार गर्ने ।’

यस्तै, अस्पतालमा टोकन लिने कार्यलाई डिजिटलाइज गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने, अस्पतालका हरेक शौचालय सफा र थप व्यवस्थित गर्नुपर्ने, पार्किङमा देखिएको समस्यालाई १५ दिनभित्र व्यवस्थित गर्ने लगायतका सहमति भएका छन् । 

सहमति पत्रमा अस्पतालका तर्फबाट निर्देशक गणेश थापा र जेनजी पतिनिधिका तर्फबाट प्रकाश खड्का र सुवास शाहीको हस्ताक्षर छ । 



Post a Comment

Previous Post Next Post