टी–२० विश्वकप : सामोआलाई‌ १ सय २४ रनले हराउँदै नेपाल बन्यो च्याम्पियन

काठमाण्डौ : आईसीसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन बनेको छ । 

ओमानको अल अमिरात मैदानमा आज भएको छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई‌ १ सय २४ रनले हरायएको हो । नेपालले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । सामोआका सिन सोनियाले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो व्यक्तिगत सर्वाधिक रन हो । यसअघि उनले वेस्ट इन्डिजसँगको खेलमा ६८ रन बनाएका थिए । यस्तै लोकेश बमले ३९, कप्तान रोहित पौडेलले २१ रन बनाए । सामोआका ४ जना बलरले १र१ विकेट लिए ।

नेपालले अपराजित रहँदै उपाधि जितेको हो । सुपर–सिक्समा नेपाल ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रह्यो । यूएई ५ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा रह्यो ।

नेपाल, ओमान र यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ भने अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।

Post a Comment

Previous Post Next Post