जेन-जी आन्दोलनको छानबिन र एकताको लागि पुर्व मुख्यमन्त्री शाही र मुख्यमन्त्री कंडेलले गरे अपिल

सुर्खेत : जेन-जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकार जस्ता मागसहित सुरु गरेको आन्दोलनमा हिंसात्मक घटनामा परिणत भएपछि देशभर त्रास सिर्जना भएको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा हालसम्म ७० जनाभन्दा बढीले ज्यान गुमाएको र सयौँ घाइते भएको तथ्यांक सार्वजनिक भएको छ ।

यी घटनाप्रति दुुई ठूला दलका प्रदेश नेताहरुले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णालीका दलनेता जीवनबहादुर शाही र मुख्यमन्त्री एवम् नेकपा (एमाले) कर्णालीका दलका नेता यामलाल कडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, प्रदेश सभा भवनदेखि सार्वजनिक तथा निजी संरचनामा गरिएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले असामान्य परिस्थितिको फाइदा उठाउँदै भइरहेको अवैध गतिविधि नियन्त्रण गर्न र नागरिकको ज्यान–धनको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई आह्वान गरेका छन् ।

विज्ञप्तिमा हाल देखिएको निराशा र असन्तोषलाई गम्भीरतापूर्वक बुझेर समाधान खोज्न राज्य संयन्त्रलाई सुझाव दिइएको छ । “विगतका कमजोरी सच्याउँदै आत्मसमीक्षा गर्दै अघि बढ्नु जरुरी छ, अहिले प्राप्त उपलब्धीको रक्षा गर्दै थप एकताबद्ध हुनु नै समयको माग हो,” विज्ञप्तिमा भनिएको छ ।


शाही र कडेलले राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि परेको गम्भीर चुनौतीलाई सामना गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई धैर्यका साथ संवैधानिक तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार एकताबद्ध हुन अपिल गरेका छन् ।

Post a Comment

Previous Post Next Post