कर्णालीका मूर्त र अमूर्त संस्कृतिको भिडियो बनाए सामाजिक विकास मन्त्रालयले पुरस्कृत गर्ने

सुर्खेत : कर्णाली प्रदेशमा रहेका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूको भिडियो निर्माण गरेमा सामाजिक विकास मन्त्रालयले पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले चालु आर्थिक वर्षभरिमा यो कार्यक्रम लागू हुनेगरी सूचना मार्फत भिडियो निर्माण गर्न आव्हान गरेको हो। 

भाषा, कला, संस्कृति समेत कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयले कर्णालीका मूर्त र अमूर्त संस्कृति सम्पदाहरूको अभिलेखिकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो निर्माण गर्न आव्हान गरिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए। उनका अनुसार मासिक रूपमा उत्कृष्ट भिडियो छनोट गरी नगद रू. १५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ। वर्षभरिमा निर्माण भएका भिडियोहरूमध्येबाट सर्वोत्कृष्ट छनोट गरी नगद रू.३५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न पाँच विधामा प्रति विधागत भिडियोको नगद रू. २० हजार र प्रमाणपत्र प्रदान गरिनेछ। 

कर्णाली प्रदेशको मूर्त संस्कृति जस्तैः पुरातात्विक संरचना, मन्दिर, गुम्बा, परम्परागत घर, मूर्तिकला, धार्मिक सम्पदा, पर्यटकीय सम्पदा, जलसम्पदा आदि र अमूर्त संस्कृति जस्तैः मेला, पर्व। जात्रा, देवीदेवताका पैठ, लोकगीत, लोकनृत्य, लोककथा, रीतिरिवाज, मौखिक इतिहास, संस्कारकर्म, मागल, धमारी, ढटाह, आदिको श्रव्यदृश्य सामग्री (Video) निर्माण गरी पुरस्कार प्राप्त गर्न सकिने जनार्इएको छ। यीमध्ये मेला, पर्व, जात्रा, देवीदेवताका पैठ सम्बन्धी भिडियोहरू  मासिक प्रतिस्पर्धाका लागि समावेश गरिनेछन्। यसबाहेकका भिडियोहरू मध्येबाट सर्वोत्कृष्ट र विधागत रूपमा उत्कृष्ट छनोट गरिने बतार्इएको छ। 

स्वस्फूर्त जोकोहीले भिडियो बनाएर आफ्नो युटुव च्यानल मार्फत प्रसारण गरी सोको लिंक मन्त्रालयले उपलब्ध गराएको र्इमेल ठेगाना पठाउन सकिने युवा तथा खेलकुद महाशाखाले जानाएको छ। महाशाखाका अनुसार भिडियो ५ देखि १० मिनेटसम्ममा पूर्ण परिचयात्मक तथा स्पष्ट सन्देशयुक्त हुनुपर्नेछ भने प्रचलित कानून बमोजिम प्रतिलिपी अधिकार प्राप्त भएको हुनुपर्ने शर्त राखिएको छ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali