सुर्खेत : मानव वेचबिखन तथा ओसारपसार मुद्दामा इन्टपोलको रेड नोटिसमा परेका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–२, सप्तरी समझींघा घर भएका ३९ वर्षीय कृष्ण सुनारलाई अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरिएको हो । उनी २०७२ असार २७ गते सुर्खेतकी एक महिलालाई विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश, सिम्लामा लगेर बेचबिखन गरेको अभियोगमा फरार थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भए पनि सुनार वारदातदेखि नै फरार रहेका थिए । पछि नेपाल प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोलले उनको नाममा रेड नोटिस जारी गरेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखा नक्साल, काठमाण्डौँ र कुवेत प्रहरीबीचको सहकार्यमा उनलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।
हाल सुनारलाई जिल्ला अदालत सुर्खेतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
Post a Comment