सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा रहेका छन् । घटनामा सिरियस घाइते भएका उनको पेट र टाउकोमा गहिरो चोट लागेको थियो ।
तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिट नजिकै मिनिट्रकबाट घाँस झारिरहेका दुई व्यक्तिलाई कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरोले बिहान करिब १०ः४५ मिनेटको समयमा ठक्कर दिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार बोलेरो गुमीबाट वीरेन्द्रनगरतर्फ तीव्र गतिमा आउँदै थियो ।
सोही घटनामा सोही ठाउँकी ३२ वर्षीय तिलकुमारी बुढा पनि घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने बोलेरो गाडीका चालक, लेकवेशी नगरपालिका–६ निवासी २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकलाई हिरासतमा राखी घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जानकारी दिएको छ ।

Post a Comment