सुर्खेत : दैलेखमा स्वदेशमै ठूलो परिमाणको प्राकृतिक मिथेन ग्यास फेला परेको छ । चाइना जियोलोजिकल सर्भेले गरेको प्रारम्भिक अध्ययन अनुसार दैलेखको भैरवी गाउँपालिकास्थित जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । सन् २०१९ देखि भइरहेको अध्ययनले नेपाललाई ५०–६० वर्ष पुग्ने ग्यास भएको देखाएको छ ।
चिनियाँ सरकारको अनुदानमा २ अर्ब १७ करोड रुपैयाँ लागतमा गरिएको सो अध्ययनको विस्तृत प्रतिवेदन सन् २०२५ को डिसेम्बरसम्म आउने छ । अध्ययनको प्रारम्भिक निष्कर्ष अनुसार एक वर्षभित्रमा उत्पादन परीक्षण सुरु गर्न सकिने जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विस्तृत प्रतिवेदन प्राप्त भएको ७५ दिनभित्र ग्यासको प्रारम्भिक उत्पादन सुरु गर्ने योजना रहेको जानकारी दिए । मन्त्री भण्डारीका अनुसार उत्पादन र प्रशोधनका लागि थप लगानी आवश्यक भएकोले चीन सरकारलाई सहयोगका लागि अनुरोध गरिनेछ ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितका अनुसार फेला परेको ग्यासको ९० प्रतिशतभन्दा बढी मिथेन रहेको छ, जुन एलपी ग्यासको तुलनामा अधिक वातावरणमैत्री मानिन्छ। अध्ययनले यस ग्यासको बजार मूल्य ८५ अर्ब अमेरिकी डलर बराबर हुने अनुमान गरेको छ ।
यस प्राकृतिक ग्यासले खाना पकाउने, उद्योग सञ्चालन, विद्युत उत्पादन तथा सवारीसाधन चलाउन प्रयोग गर्न सकिने भएकाले एलपी ग्यास आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हालसम्म ४,०१३ मिटर गहिरो ड्रिलिङ गरिएको छ, जहाँ ९० प्रतिशतभन्दा बढी शुद्ध मिथेन पाइएको छ । व्यावसायिक उत्पादनका लागि सरकारलाई नयाँ कम्पनी खोल्ने वा निजी क्षेत्रलाई सहभागी गराउने तयारी भइरहेको छ ।
यस परियोजना सन् २०१६ मा सुरु भएको थियो। त्यसयता सन् २०१७ र २०१९ मा थप सम्झौताहरू भई कार्यान्वयनमा आएको हो । यता, विभागले दाङ, पाल्पा र सुनसरी जिल्लामा पनि करिब ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरेको छ, जसको थप अध्ययन गर्न बाँकी छ।
चीनको सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २०७९ सालदेखि ड्रिलिङ सुरु गरेको हो भने चाइना जियोलोजिकल सर्भे कम्पनीले सन् २०२५ को अन्त्यसम्म अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारले परियोजनाका लागि ४५ रोपनी जमिन अधिग्रहणको स्वीकृति समेत प्रदान गरिसकेको छ ।
Post a Comment