कर्णालीमा वित्तीय साक्षरता कमजोर

सुर्खेत : कर्णाली प्रदेशमा वित्तीय साक्षरता कमजोर रहेको पाइएको छ । कर्णाली फाउण्डेशनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय वित्तीय साक्षरता र वित्तीय समावेशिकरण विषय कार्यशालामा बैंकमा खाता खोल्नेदेखि बचत गर्ने, मोबाइल बैंकिङ गर्नेलगायतका बैंकिङ सेवा सुविधा लिन कर्णालीबासी निकै पछि रहेको पाइएको हो । 

कर्णालीमा क बर्गका बैंकसहित ५०७ वटा वित्तीय संस्थाहरु रहेका छन् । यी वित्तीय संस्थाहरुबाट कर्णालीबासीले बैंकिङ कारोबार गर्ने गरेको बैंकर एशोसियसन कर्णाली प्रदेशले जनाएको छ । एशोसियसनका कर्णाली प्रदेश उपाध्यक्ष दिवाकर जोशीले मुलुकका सात प्रदेशमध्ये बैंकमा खाता खोल्नेमा कर्णाली छैठौं स्थानमा रहेको बताए। कर्णालीमा बैंकमा खाता खोल्ने १२१ प्रतिशत रहेको छ । यस्तै एटिएम कार्ड प्रयोग गर्नेहरुको संख्या तीन लाख ३७ हजार रहेको छ । जसमध्ये सक्रिय दुई लाख ४० हजार रहेको जानकारी उनले दिए । क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या केवल चार हजार मात्रै छ । 



त्यसैगरी कोभिडपछि कर्णालीमा मोबाइल बैंकिङको कारोबार पनि बढेको छ । मोबाइल बैकिंङ गर्नेहरुको संख्या कर्णालीमा आठ लाख ७० हजार रहेकोमा सक्रिय पाँच लाख ६२ हजार  रहेको एशोसियसनका कर्णाली प्रदेश उपाध्यक्ष जोशीले बताए । त्यस्तै इन्टरनेट बैंकिङ  गर्ने २४ हजार मध्ये १८ हजार सक्रिय रहेका छन्भने डलर कार्ड प्रयोग गर्नेको संख्या ७२३ रहेको छ । 

कर्णालीका १० जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतमा बढी कारोबार हुने गरेको छभने मुगु, डोल्पा, हुम्लामा कारोबार कम हुने गरेको पाइएको छ । खाता खोल्नेमा सुर्खेतमा सवैभन्दा धेरै १४६ प्रतिशत रहेको छभने रुकुम पश्चिममा १३५ प्रतिशत रहेको छ । उनले गत वर्ष कर्णालीमा ३५ अर्ब रुपियाँ बचत भएको थियो । यसवर्ष सात अर्ब बढेर ४२ अर्ब पुगेको बताए । पुँजी बचत भएपछि लगानी गर्ने अवसर पनि खुलेको छ । यस्तै कर्णालीमा ६१ अर्ब कर्जा लगानी भएको छ । कृषि, शैक्षिक, आवासलगायतका क्षेत्रमा यहाँ बैंकको कर्जा लगानी भएको छ । बचत गर्ने र कर्जा लगानीमा पनि प्रदेश राजधानी सुर्खेतमै बढी रहेको उपाध्यक्ष जोशीले बताए । 

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहले उद्योगपतिहरुले बैंक खोल्ने र मिलिमतोमा कर्जा सवै आफूले लिएर ग्रामीण तहका बासिन्दाले कर्जा पाउन नसक्ने अवस्था रहेको जानकारी दिए । एउटै व्यक्तिले उद्योग र बैंक खोल्न नहुनेसुझाव पनि दिए । यदि एकै व्यक्तिले बैंक र उद्योग खोलेमा स्वार्थ बाझिने उनको भनाइ छ । उनले कर्णालीमा वित्तीय साक्षरता वित्तीय समावेशिकरणको खाँचो रहेकोले त्यसका लागि प्रदेश सरकारले सवैसँग सहकार्य गर्न तयार रहेको बताए । 

कर्णाली फाउण्डेशनका अध्यक्ष नारायणप्रसाद भट्टराईले कर्णालीमा अझैपनि वित्तीय साक्षरताको आवश्यकता रहेको बताए। उनले त्यसका लागि बैंकका साथै निजी क्षेत्र र नागरिक समाजलाई सँगसँगै लैजानुपर्ने सुझाव दिए । सो अवसरमा डिजिटल बैंकिङ अहिलेको आवश्यकता भएकोले यसको संचालनका लागि सावधानी पनि अपनाउनुपर्नेमा जोड दिइएको छ । 

Post a Comment

Previous Post Next Post