हुम्ला : कणाृलीका हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । हिउँदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा पानी सतह घट्दै गएको हो ।
नाम्खा गाउँपालिका–३ का उर्गेन लामाले न्यालु, छुवा, ताक्ची, लाप्चा क्षेत्रका एक दर्जन हिमतालमा पानीको सतह घट्दै गएको बताए। उनले न्यालु क्षेत्रको चार हजार पाँच सय मिटर उचाइमा रहेको सेलिमाङ तालको ७५ प्रतिशत पानी सुकेको जानकारी दिए । गत वर्ष यो समयमा उक्त तालमा पानीको सतह राम्रै भए पनि यो वर्ष यही समयमा पानी घटेर पोखरीका रूपमा देखिन थालेको उनले बताए । त्यसै गरी ताक्ची क्षेत्रमा बस्दै आएका फुन्जोक लामाले पनि निकै ठुलो जादेको तालको पानीको सतह घटेर गएको उल्लेख गरे । उनले यी दुई क्षेत्रको मात्र नभएर लाप्चातिरका सात वटा हिमतालमा पानीको सतह घटेको मात्र नभएर दुई वटाको त पानी नै सुकेको बताए । उच्च पाटन क्षेत्रमा हिमतालमा पानी सुकेपछि चौँरी गाईलाई पिउने पानीको समस्या भएको उनले बताए । नाम्खा गाउँपालिका उच्च पाटनमा २० भन्दा बढी हिमताल रहेको र तीमध्ये अधिकांशको पानीको सतह घट्दै नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
हिउँ धेरै नपर्नु, तापक्रम बढ्नु र जलवायु परिवर्तनका कारण यो अवस्था सिर्जना भएको उनको भनाइ छ । बाह्रै महिना हिउँ जमिरहने हिमालमा हिजोआज हिउँ पग्लेर कालापत्थर देखिन थालेपछि पानीको स्रोत नै नभएपछि हिमतालमा पानी घट्नु र सुक्नु स्वाभाविक भएको उनले बताए । नाम्खा गाउँपालिका मात्र नभएर सिमकोट गाउँपालिका–४ को पञ्चमुखी हिमाल क्षेत्रको दुधे दह र लडे दहको पानी पनि सुकेको स्थानीय छिरिङ लामाले बताए । हिउँदमा हिउँ पर्न कम भएपछि अब यस्ता हिमताल सुक्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।

Post a Comment