सवारी लाइन्सेन्सको स्मार्ट कार्डको सट्टा क्युआर कोड

सुर्खेत : सरकारले सवारी लाइन्सेन्सको स्मार्ट कार्ड छाप्न छाडेपछि सवारी लाइसेन्सको ट्रायल पास गर्नेलाई उसको रसिदमै फोटो र क्युआर कोड दिएर पठाउन सुरु गरेको छ ।

प्रदेशस्तरमा सञ्चालन भइरहेका सवारीचालक अनुमतिपत्रका लागि दिइएको ट्रायल पास हुनेले पाउने रसिदमा फोटो र क्युआर कोड दिन थालिएको हो । यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमर्जेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका यातायात कार्यालयले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्न सुरु गरिएको हो । कर्णाली प्रदेशका तीन ठाउँबाट सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड वितरण गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । अहिले जुम्ला र रुकुमपश्चिमले मात्र क्युआर कोड दिन सुरु गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमबाट लाइसेन्स वितरण हुँदै आएको छ । अहिले यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमले फोटो र क्युआर कोड वितरण गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । वैशाख २४ गतेबाट फोटोसहित ‘क्युआर कोड’ वितरण सुरु गरिएको यातायात व्यावस्था सेवा कार्यालय जुम्लाले जनाएको छ ।

झट्ट हेर्दा हुबहु स्मार्ट लाइसेन्स जस्तै देखिने क्युआर कोड कार्ड वितरण सुरु गरिएको जुम्ला कार्यालय प्रमुख लोकबहादुर महतले बताए। हेर्दा स्मार्ट लाइसेन्स जस्तो देखिए पनि सक्कल लाइसेन्स नभएको र ट्रायल पास गरिसकेकालाई एक वर्षका लागि दिइने परीक्षण पेपरलाई अहिले क्युआर कोड कार्डका रूपमा छापेर दिन सुरु गरिएको उनले जानकारी दिए । एक वर्षका लागि क्युआर कोड उपलब्ध गराइने छ । ट्राफिक प्रहरीले चेक गर्दा क्युआर कोड स्क्यान गरेपछि सबै विवरण देखिने महतको भनाइ छ । यस्तै यातायात व्यवस्था सेवा कार्यालय रुकुमपश्चिमले पनि आइतबारदेखि सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड वितरण सुरु गरेको छ । रसिदमै फोटो र क्युआर कोड राख्दा ट्राफिक प्रहरीलाई पनि लाइसेन्स जाँच सहज र भरपर्दो हुने रुकुमपश्चिम कार्यालय प्रमुख मोहनकुमार केसीले बताए । यातायात व्यवस्था कार्यालय सुर्खेतले भने अहिले नयाँ लाइसेन्स वितरण गरेको छैन । विगत छ महिनादेखि कार्यालयबाट नयाँ लाइसेन्स वितरणको काम नभएको कार्यालय प्रमुख मुकुन्द्रनाथ योगीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेतको भवन निर्माणको काम भइरहेको छ । भवन निर्माण सम्पन्न भएपछि मात्र नयाँ लाइसेन्स वितरण गरिने योगीले जानकारी दिए।

ट्रायल दिनुअगावै शुल्क तिर्ने बेलामै रसिदमा क्युआर कोड राख्ने र फोटो टाँस्ने व्यवस्थाबाट लाइसेन्सका लागि नक्कली परीक्षार्थीले ट्रायल दिने प्रवृत्ति रोकिने छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार अरूको रसिद बोकेर आफ्नै हो भन्दै सवारीसाधान चलाउने घटनालाई पनि यसले रोक्ने छ । अहिले दिइरहेको रसिदमा फोटो वा व्यक्ति पहिचानका लागि नामबाहेक अन्य विवरण नहुने भएकाले ट्राफिक प्रहरी झुक्याउने गरिएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए । अबको रसिदमा फोटो र क्युआर कोड राखेपछि ट्राफिक प्रहरीसँग मोबाइलमा भएको सफ्टवेयर स्क्यान गरेर नक्कली र सक्कली पत्ता लगाउन सकिने उनको भनाइ छ ।

Post a Comment

Previous Post Next Post